विशेष

दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

👤 सनस्टार संवाददाता  |  📅 2026-09-21
दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
**काठमाडाै ।** चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै १ लाख ३० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार साउन र भदौमा गरी १ लाख ३० हजार ४८३ जनाले अन्तिम श्रम स्वीकृति लिएका हुन् । साउनमा मात्रै ७० हजार ४४१ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । भदौमा भने अघिल्लो महिनाको तुलनामा वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेको छ । भदौमा ६० हजार ४२ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । तीमध्ये ५१ हजार ८४३ पुरुष र ८ हजार १९९ महिला रहेका छन् । भदौमा श्रम स्वीकृति लिनेहरूमध्ये ३५ हजार ६२७ जना पहिलोपटक वैदेशिक रोजगारीमा जान लागेका हुन् । त्यस्तै, बिदामा नेपाल फर्किएपछि पुनः रोजगारीमा जानका लागि २४ हजार ४१५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । **यूएई प्रमुख गन्तव्य** गन्तव्य मुलुकका आधारमा संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली श्रमिकको प्रमुख रोजाइमा परेको देखिएको छ । भदौमा यूएई जान १८ हजार ४७७ जनाले श्रम स्वीकृति लिएका छन् । तीमध्ये १५ हजार ५४२ पुरुष र २ हजार ९३५ महिला छन् । त्यसपछि कतारका लागि १० हजार ४७१, मलेसियाका लागि ८ हजार ९१, साउदी अरेबियाका लागि ६ हजार ७८७ र कुवेतका लागि ३ हजार ८९८ जनाले श्रम स्वीकृति लिएका छन् । युरोपेली मुलुकतर्फ रोमानियाका लागि १ हजार ७९३ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, जापानका लागि १ हजार १३० र ओमानका लागि १ हजार ९५ जनाले स्वीकृति पाएका छन् । दक्षिण कोरियाका लागि सरकारी प्रक्रियाबाट जाने ७८९ जनासहित कुल ९०३ जनाले श्रम स्वीकृति लिएका छन् । **मधेस र कोशीका जिल्लाबाट बढी श्रमिक** जिल्लागत तथ्यांक हेर्दा मधेस र कोशी प्रदेशका जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको संख्या तुलनात्मक रूपमा बढी देखिएको छ । भदौमा धनुषाबाट सबैभन्दा धेरै ३ हजार १६ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, झापाबाट २ हजार ७१६, मोरङबाट २ हजार ६९०, सिरहाबाट २ हजार ३४९, महोत्तरीबाट २ हजार २८१, सुनसरीबाट २ हजार २२६ र रुपन्देहीबाट २ हजार १० जनाले श्रम स्वीकृति लिएका छन् । हिमाली जिल्लाबाट भने वैदेशिक रोजगारीमा जानेको संख्या निकै कम रहेको छ । समीक्षा अवधिमा मनाङबाट १३, मुस्ताङबाट २३ र हुम्लाबाट ३७ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । **दक्ष जनशक्तिको हिस्सा बढी** वैदेशिक रोजगारीमा जाने श्रमिकको सीपगत अवस्थातर्फ हेर्दा दक्ष जनशक्तिको हिस्सा सबैभन्दा ठूलो रहेको छ । विभागका अनुसार भदौमा श्रम स्वीकृति लिने ३४ हजार १६७ जना अर्थात् ५६.९ प्रतिशत दक्ष श्रमिक रहेका छन् । त्यस्तै, १६ हजार ५८ जना अदक्ष, ९ हजार ४६६ जना अर्धदक्ष, २७१ जना व्यावसायिक र ८० जना उच्च दक्ष श्रमिक रहेका छन् । भदौमा नयाँ श्रम स्वीकृति लिने ३४ हजार ८३९ जनामध्ये २५ हजार ४१५ जनाले म्यानपावर कम्पनीमार्फत प्रक्रिया पूरा गरेका छन् भने ९ हजार २२४ जनाले व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएका छन् । नेपालमा रोजगारीका पर्याप्त अवसर सिर्जना हुन नसक्दा ठूलो संख्यामा युवा वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेका छन् । पछिल्लो तथ्यांकले पनि नेपाली श्रम बजारमा वैदेशिक रोजगारीको निर्भरता अझै उच्च रहेको देखाएको छ ।