देउवा पक्षले पनि युवाहरुको प्रतिनिधित्व बढायो
👤 सनस्टार संवाददाता |

देउवा पक्षले पनि युवाहरुको प्रतिनिधित्व बढायो
आश्विन १२ , २०८३
काठमाडौँ — समानान्तर महाधिवेशनको तयारीमा जुटेको पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि तल्लो तहदेखि नै युवाहरुको सहभागिता बढाउने गरी विधान संशोधन गरेको छ ।
चुनदेवी सम्पर्क कार्यालय समोन्वय समितिका संयोजक दीपक कुइँकेलका अनुसार क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधिसहित वडादेखि केन्द्रीय कार्यसमिति सम्ममा १८ वर्षदेखि २८ वर्षका युवाहरुको प्रतिनिधित्व कम्तीमा दुई जना हुनेछ । त्यसमा एक महिला र एक पुरुष प्रतिनिधित्व हुने व्यवस्था छ । त्यसैगरी प्रत्येक तहमा श्रमिक र पेशागत बुद्धिजिवीको तर्फबाट पनि सबै तहमा एक जनाको प्रतिनिधित्व सुनिश्चित गराइएको कुइँकेलले बताए ।
चुनदेवीस्थित सम्पर्क कार्यालयमा शनिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समितिका संयोजक शशांक कोइरालाले पार्टी एकताकै लागि यो अधिवेशन हुन लागेको बताए । उनले १५ असोजबाटै अधिवेशन सुरु हुने बताउँदै सबैको सहयोगको अपील गरे ।
पत्रकार सम्मेलनमा निर्वाचन व्यवस्थापन समितिका संयोजक किरण पौडेलले पुराना नवीकरण गरेका ५ लाख ७३ हजार २ सय ६९ र नयाँ वितरण गरेका २ लाख १० हजार ५ सय ६७ गरेर ७ लाख ८३ हजार ८ सय ३६ क्रियाशील सदस्यता शुक्रबारसम्म टुंगो लागेको बताएका थिए । उक्त क्रियाशील सदस्यताको सूची निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई हस्तान्तरण गरिएको थियो । महाधिवेशनका लागि शनिबार नै वेबसाइट समेत सार्वजनिक गरिएको छ । तर, अनलाइनबाट भने १५ असोजसम्मै सदस्यता लिन पाइने व्यवस्था गरिएको छ । त्यसका लागि शनिबार नै वेबसाइट सार्वजनिक गरिएको छ । ‘१५ असोजमा वडा अधिवेशन सुरु हुनु अघिसम्म फारम भर्नेजति सहभागी हुन पाउँछन्,’ कुइँकेलले भने ।