सूर्यतारा क्लबको महोत्सवमा ६ ए साइड फुटसल, विजेतालाई १ लाख १ हजार पुरस्कार मंसिर १९ देखि २१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने, उपविजेताले ५० हजार ५०० रुपैयाँ पाउने पोखरा। सूर्यतारा क्लब पोखराको आयोजनामा हुने चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ अन्तर्गत ६ ए साइड फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ। पोखरा महानगरपालिका–२७, तालचोकस्थित काइट्स स्पोर्ट्समा आगामी मंसिर १९ देखि २१ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले नगद एक लाख एक हजार रुपैयाँ र उपविजेता टोलीले ५० हजार ५०० रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले मंसिर १७ गतेसम्म पाँच हजार ५०० रुपैयाँ दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन्। क्लबका अध्यक्ष बिष्णु पुनका अनुसार प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्ने तयारी भइरहेको छ। खेलकुद तथा सांस्कृतिक गतिविधिमार्फत युवालाई सकारात्मक र सिर्जनात्मक कार्यमा जोड्नुका साथै स्थानीय तथा विभिन्न क्षेत्रका खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले बताए। ‘सामाजिक परिवर्तनको लागि समृद्ध समाज हाम्रो परिकल्पना’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा खुल्ला फुटसल, जातीय संघसंस्थाका झाँकी, भजन, स्लो स्कुटर रेस तथा डोरीतान प्रतियोगितालगायतका गतिविधि सञ्चालन हुनेछन्। खेलकुद र संस्कृतिलाई एउटै उत्सवमा समेटेर युवाको सहभागिता बढाउने, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने तथा सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्ने महोत्सवको उद्देश्य रहेको अध्यक्ष पुनले बताए। क्लबका सल्लाहकार सन्दिप कोइरालाले खेलकुद र संस्कृतिको माध्यमबाट पोखराको पर्यटन प्रवर्द्धन, सामुदायिक सहभागिता तथा सामाजिक सद्भाव बढाउन महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। धार्मिक तथा सांस्कृतिक कार्यक्रममार्फत पोखराको मौलिक पहिचानलाई थप उजागर गर्न सकिने उनको भनाइ छ। महोत्सवले खेलकुदको विकास, युवाको प्रतिभा प्रस्फुटन तथा स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्दै पोखराको पर्यटन विकासमा समेत योगदान पुर्‍याउने अपेक्षा आयोजकले गरेको छ।