नेपाली काङ्रेसको समावेशी कोटामा अर्बपति चौधरीको कब्जा
👤 सनस्टार संवाददाता |

नेपाली काङ्रेसको समावेशी कोटामा अर्बपति चौधरीको कब्जा
काठमाडौँ ।
नेपाली कांग्रेसको समावेशी उपसभापतिमा उद्योगपति विनोद चौधरी निर्वाचित भएका छन् । पार्टीमा खासै योगदान नभएका तर, पैसाको भरमा खुलामा प्रतिस्पर्धा गर्न सक्ने व्यक्तिले पनि समावेशी कोटामा निर्वाचन लडेर अरुको भाग खोसेको भन्दै आलोचना भइरहेको छ ।
एक पदका लागि ५ जनाबीच प्रतिस्पर्धा भएकोमा चौधरीले चौधरी १ हजार ७४५ मत ल्याएर निर्वाचित भए । उनीसँग प्रतिस्पर्धा गरेका जीवन परियार, फरमुल्लाह मन्सुर, चौधरी, रञ्जित कर्ण र सीता गुरुङ पराजित भए ।
परियारले १ हजार ६५८, मन्सुरले १ हजार १४४, गुरुङले १ हजार ११२ र कर्णले ५६२ मत ल्याए । चौधरी र परियारको मतान्तर ८७ मतको मात्रै छ ।
अस्पताल, बैंकदेखि चाउचाउसम्मका व्यापार गर्ने चौधरी एसियाली धनी व्यक्तिहरूको सूचीमा समेत पर्छन् तर राज्यको मूलधारबाट पछाडि पारिएका, सीमान्तकृत र अल्पसंख्यक वर्ग वा समुदायलाई राज्यका हरेक अंग र सेवामा समान पहुँच, प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्नका लागि निर्धारण गरिएको समावेशी कोटा आरक्षण उपयोग गरेर उपसभापति बनेका छन् । ऐतिहासिक रूपमा विभेद र अवसरबाट वञ्चित भएका नागरिकहरूलाई विशेष अवसर प्रदान गरी समाजमा समानता र सामाजिक न्याय कायम गर्न बनाएको समावेशी कोटामा अर्बौँका मालिक प्रतिस्पर्धा गरेर जितेको भन्दै चौधरी सामाजिक सञ्जाल र बौद्धिक वर्गमा आलोचित छन् ।
उनीसँग प्रतिस्पर्धा गरेका परियार विद्यार्थी दलित सङ्घ र पार्टीको तल्लो तहदेखि राजनीति गरेर यहाँसम्म पुगेका व्यक्ति हुन् । १३ औँ महाधिवेशनसम्म केन्द्रीय सदस्य र १४ औँ महाधिवेशनमा दलित कलस्टरबाट सहमहामन्त्रीमा परियार निर्वाचित भएका थिए ।
अहिले समावेशी कोटामा उपसभापतिको उम्मेदवार बनेका थिए । अरबपति चौधरी समावेशी कोटामा भिड्न आएपछि झिनो मतान्तरले पराजित भए ।
परियारले खुला प्रतिस्पर्धामा भिड्न सक्ने व्यक्तिलाई पार्टीले समन्वय गर्न सकेको भए राम्रो हुन्थ्यो भन्ने आफ्नो बुझाइ रहेको बताउँछन् । ‘पाटीले गरेको वैधानिक व्यवस्थाबमोजिम उहाँ प्रतिस्पर्धा गर्न पाउनुहुन्न भन्न मिल्दैन तर उहाँ खुला प्रतिस्पर्धामा भिड्न सक्ने व्यक्तित्व हो,’ परियारले रातोपाटीसँग भने, ‘यसको समन्वय पार्टी नेतृत्वले गर्न सकेको भए राम्रो हुने थियो भन्ने मेरो आफ्नो बुझाइ छ ।’
चौधरीका अर्का प्रतिस्पर्धी मन्सुरले भने चौधरी समावेशीतर्फ उम्मेदवार भएकोबारे आफूले प्रतिक्रिया नदिने बताए । ‘निर्वाचन लड्नु भयो । धेरै मत ल्याउनु भयो । जित्नुभयो । यसमा मेरो कुनै प्रतिक्रिया छैन,’ मन्सुरले रातोपाटीसँग भने ।
परियार मात्रै होइन, नेविसंघको इकाइदेखि काम गरेर स्वतन्त्र विद्यार्थी युनियनदेखि नेविसंघको केन्द्रीय सभापति बनेका कर्ण, २०७९ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुँदा एकमात्र महिला जित्दा जितेकी सीता गुरुङ र मुस्लिम समुदायका निवर्तमान सहमहामन्त्री फरमुल्लाह मन्सुरमध्य एकले जित्ने समावेशी पद चौधरीले खोसिदिएका छन् ।
यसको चर्को विरोध सामाजिक सञ्जालमा पनि भइरहेको छ । फेसबुकमा सालिक राम ढकालले लेखेका छन्, ‘सुध्रिएको नेफोली कउरेसमा नेपालको एक्लो फोब्र्सपति समावेशी कोटाको उम्मेदवार हुनुहुँदो रहेछ । पहिले उहाँ समानुपातिक सांसद हुनुहुन्थ्यो । समानुपातिक, समावेशी सिद्धान्तको धज्जी उडाउने यस्तै धन्दाले होला सुध्रिएको काउरेस बन्ने ! यो नेपाली समाजको अर्को विपत्ति हो !!’
चौधरी पैसाकै बलमा कांग्रेसको राजनीतिमा प्रवेश गरेको ९ वर्षमा उपसभापति बनेका छन् । २०७४ कांग्रेसमा औपचारिक रूपमा प्रवेश गरेका चौधरी समयअनुसार फरक–फरक नेतालाई रिझाउँदै ९ वर्षमै असहाय र निमुखाका लागि निर्धारण गरिएको कोटा निर्धारण गरेर उपसभापतिको खुट्किलो चढेका छन् । अहिले मात्रै होइन, १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा पनि चौधरीले समावेशी कोटालाई नै उपयोग गरेका थिए । १४औँ महाधिवेशनमा उनी मधेशी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
२०४६ पछि एमालेसँग नजिकिएका चौधरीले २०६४ सालमा पहिलो संविधानसभा निर्वाचनमा समानुपातिक सूचीबाट सभासद् बने । त्यसमा पनि उनले समानुपातिक प्रतिनिधित्व नै रोजेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पश्चिम नवलपरासी–१ बाट निर्वाचित चौधरी गत वर्ष भएको जेनजी आन्दोलनपछि गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग पराजित भए । चौधरीको दमन सहन नसकेर खनाल कांग्रेसबाट निर्वाचन हुनुभन्दा केही समय अगाडि मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेर चौधरीलाई हराइदिएका हुन् ।
कांग्रेसको आन्तरिक समीकरणमा आएको परिवर्तनसँगै नेता बदलेर चौधरीले आफ्नो स्वार्थ सिद्ध गरिरहेका छन् ।
सुरुमा निवर्तमान सभापति शेरबहादुर देउवा समूह निकट रहेर राजनीति गरिरहेका चौधरी जेनजी आन्दोलनपछि गगन थापासँग नजिकिए । गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएर केन्द्रीय सदस्य बनेका उनी अहिले समावेशी कोटा उपयोग गरेर उपसभापति निर्वाचित भएका छन् ।
गत पुस अन्तिम साता केन्द्रीय कार्यसमितिको असहमतिबिच विशेष महाधिवेशन गर्ने बेलामा तत्कालिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई समय सापेक्ष बनाउने उद्घोष गरेका थिए । उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने बताएका उनीहरूले १५ औँ महाधिवेशनमा आएर अरबपति चौधरीलाई समावेशी तर्फबाट उपसभापति बनाउन भ्याएका छन् ।