पर्वतको जलजलामा बाढीले २० भन्दा बढी घर बगायो
👤 सनस्टार संवाददाता |

पर्वतको जलजलामा बाढीले २० भन्दा बढी घर बगायो
पोखरा ।
अविरल परेको वर्षापछि कालिगण्डकी नदीको बाढीले पर्वतको जलजलामा २० भन्दा बढी घर बगाएको छ । वडा नम्बर ८ फर्से क्षेत्रमा अहिलेसम्म २० भन्दा बढी घर बगाइसकेको र यसको रफ्तार बढ्दो क्रममा रहेको वडाध्यक्ष हरि विकास जिसीले जानकारी दिए ।
‘अहिलेसम्म २०–२५ घर बगाइसक्यो । सय भन्दा बढी घर बगाउने अवस्थामा छ,’ उनले भने, ‘ठुलो क्षति भएको छ ।’ उनका अनुसार कालिगण्डकीको बाढी अझै बस्तीतिर पस्न थालेको छ । मान्छेहरूलाई सुरक्षित गर्ने बाहेक अरू कुनै विकल्प नरहेको उनले सुनाए ।
बाढीले तीव्र रूप लिँदा घरहरूसँगै स्थानीय विद्यालय, विभिन्न कृषि फर्म तथा गोठहरू समेत बगाएको छ । बाढीले बस्ती पुर्ने मात्र नभई संरचनाहरू नै बगाएर लगेको जिसीले बताए । ठुलो मात्रामा भौतिक संरचना र धनमालको क्षति भए तापनि हालसम्म कुनै मानवीय क्षति भने भएको छैन ।
स्थानीय बासिन्दाहरू सुरक्षित स्थानमा सर्न सफल भएको उनले सुनाए । ‘सबैलाई सुरक्षित ठाउँमा सारेका छौँ । मान्छेलाई समस्या छैन,’ उनले भने ।