पाकिस्तानी अध्यक्षबाट भारतीय खेलाडीले लिएनन् ट्रफी
👤 सनस्टार संवाददाता |

पाकिस्तानी अध्यक्षबाट भारतीय खेलाडीले लिएनन् ट्रफी
दुबईमा भएको टी–२० फाइनलमा भारतले श्रीलंकालाई ७२ रनले हराएको हो । तर हरमनप्रित कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो ।
भाद्र ३०, २०८३
भारतीय महिला टिमले आइतबार कीर्तिमान आठौंपल्ट एसिया कपको उपाधि जितेको छ तर त्यसपछि खेलाडीले पाकिस्तानी क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी थाप्न भने मानेनन् । यही अन्योलबीच कार्यक्रम ५० मिनेट ढिला सुरु भएको थियो ।
दुबईमा भएको टी–२० फाइनलमा भारतले श्रीलंकालाई ७२ रनले हराएको हो । तर हरमनप्रित कौरको कप्तानीमा रहेको टिमले पुरस्कार प्रदान गर्ने कार्यक्रम नै बहिष्कार गरेको थियो । गत वर्ष भारतीय पुरुष टिमले पनि यस्तै ट्रफी थाप्न अस्वीकार गरेको थियो ।
दुवै अवसरमा नकवीले एसियाली क्रिकेट काउन्सिल प्रमुखका रूपमा ट्रफी प्रदान गर्ने अवसर पाएका थिए । उनी पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख सँगसँगै पाकिस्तानी सरकारका आन्तरिक मामिलामन्त्री पनि हुन् । आणविक हतियार युक्त दुई छिमेकी देशबीच लामो समयदेखि सम्बन्ध चिस्सिएको स्थिति रहेको छ ।
पछिल्लो वर्ष भारतको पुरुष टिमले फाइनलमा पाकिस्तानलाई नै हराएको थियो । भारतीय महिला क्रिकेट टिमका प्रशिक्षक अमोल मजुमदारले भनेका छन्, ‘भारतीय क्रिकेट बोर्डले ट्रफी नथाप्ने निर्णय गरेको थियो र हामी यसमा कायम छौं । हामी च्याम्पियन भयौं, यो नै हाम्रा लागि ठूलो हो ।
नकवीले उपविजेता बनेको श्रीलंकाली खेलाडीलाई पदक प्रदान गरेपछि पुरस्कार वितरण समारोह त्यही स्थितिबाट रोकिएको थियो । पछि भारतीय क्रिकेट बोर्डका सचिव देवजित सैकिया र उपाध्यक्ष राजीव सुक्लाले आफ्ना खेलाडीलाई पदक प्रदान गरेका थिए ।