पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेता चयन
👤 सनस्टार संवाददाता | 📅 2026-09-24

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव, केन्द्रीय कमिटीबाट अनुमोदन
काठमाडौं ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव पार्टी केन्द्रीय कमिटीमा
बिहीबार बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले भण्डारीलाई पार्टीको वरिष्ठ नेताको जिम्मेवारी दिने प्रस्ताव अघि बढाएको थियो। केन्द्रीय कमिटीले उक्त प्रस्ताव अनुमोदन गर्ने छ ।
भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयसँगै एमालेभित्र उनको पार्टी भूमिकालाई लिएर लामो समयदेखि चल्दै आएको बहसले नयाँ चरण लिएको छ। यसअघि उनको पार्टी सदस्यता तथा सक्रिय राजनीतिमा सहभागिताका विषयमा एमालेभित्र फरक–फरक धारणा सार्वजनिक हुँदै आएका थिए।
यसैबीच एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने तयारीसमेत गरेको छ। पार्टी सचिवालयले कार्यदलबाट तयार पारिएको प्रतिवेदन अनुमोदन गर्दै त्यसलाई केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको थियो। प्रतिवेदनमा पार्टीको नीति, संगठन र नेतृत्व पुनर्गठनसम्बन्धी विभिन्न सुझाव समेटिएका छन्।
पछिल्लो समय एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको विषयमा बहस चलिरहेको छ। केन्द्रीय कमिटी बैठकमा यस विषयमा विभिन्न नेताहरूले आफ्ना धारणा राखिरहेका छन्।
पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णयलाई एमालेको आगामी सांगठनिक तथा राजनीतिक दिशासँग जोडेर हेरिएको छ।