समाचार

पोखरामा निरन्तर बर्षा , सेतिको बहाव उच्च स्तरमा ।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-25
पोखरामा निरन्तर बर्षा , सेतिको बहाव उच्च स्तरमा ।
पोखरा , शिबराज सुवेदी । लगातारको वर्षाका कारण सेती नदीमा जलस्तर ह्वात्तै बढेको छ। जल तथा मौसम विज्ञान विभागको पछिल्लो बुलेटिन अनुसार नारायणी जलाधार अन्तर्गतको सेती सहित त्रिशुली, बुढीगण्डकी, मर्स्याङ्दी र कालीगण्डकीमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने पूर्वानुमान छ। विभागले कास्कीको मर्दी खोलाले चेतावनी तह नाघेको जनाउँदै सेती र यसका सहायक खोलाहरूमा बहाव अझै बढ्दो क्रममा रहेको जनाएको छ। यसअघि पोखरा महानगरपालिका वडा नं. १५ र १७ को सीमामा पर्ने रातोपैह्रे क्षेत्रमा पहिरोले सेती थुनिँदा नदीको सतह ५० मिटरसम्म बढेको थियो र खोँच भित्र ताल बनेको थियो। अहिलेको वर्षाले त्यस क्षेत्रमा पुनः जोखिम बढाएको स्थानीयको भनाइ छ। प्रशासनको आग्रह जिल्ला प्रशासन कार्यालय कास्कीले सेती नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले विशेष गरी पोखरा-१० रामघाट, रातोपैह्रे, महतगौंडा, लामातारा, दोबिल्ला, ढुङ्गेसाँघु, शान्ति टोल हुँदै तनहुँको दमौलीसम्मका तल्लो तटीय बस्तीका बासिन्दालाई सचेत रहन भनेको छ। नदी किनारमा नजानुस्, बालुवा निकाल्ने, दाउरा बटुल्ने, नुहाउने र माछा मार्ने काम तत्काल नगर्नुस्। खोँच र भूमिगत च्यानल भएका क्षेत्रमा जमिन भासिन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि पूर्वतयारी आवश्यक छ," प्रशासनको सूचनामा उल्लेख छ। बाढी पूर्वानुमान महाशाखाले आगामी ७२ घण्टा देशका अधिकांश नदीमा जलसतह बढ्ने र तटीय क्षेत्र जोखिममुक्त नरहेको चेतावनी दिएको छ। साथै तटीय क्षेत्रमा केही दिन नबस्न समेत आग्रह गरिएको छ।