समाचार

बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ

👤 सनस्टार संवाददाता  |  📅 2026-09-26
बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ
बिल गेट्सको चेतावनी : एआईको दुरुपयोगले एक अर्ब मानिसको ज्यान जोखिममा पर्न सक्छ माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले कृत्रिम बुद्धिमत्ता (एआई) गलत नियत भएका मानिसको हातमा परे ठुलो जोखिम निम्तिन सक्ने चेतावनी दिएका छन्। एनबीसी न्यूजको ‘मिट द प्रेस’सँगको अन्तर्वार्तामा गेट्सले एआईको दुरुपयोगबाट एक अर्ब मानिसको ज्यान जाने घटना निम्तिन सक्ने बताएका हुन्। उनले पछिल्ला एआई उपकरण गलत नियत भएका मानिसले प्रयोग गरेमा त्यसको संयोजन अहिलेसम्म बनेका कुनै पनि हतियारभन्दा शक्तिशाली हुन सक्ने बताए। गेट्सले एआईको यो जोखिम भविष्यको मात्र विषय नभएको बताए। अहिले उपलब्ध एआई उपकरणको गलत प्रयोगबाट पनि ठुलो क्षति हुन सक्ने भएकाले यसको विकाससँगै सुरक्षा र अनुगमनमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले एआई कम्पनीहरूले आफैँलाई नियमन गर्नु मात्र पर्याप्त नहुने बताए। एआईको सुरक्षा र अनुगमनका लागि सरकार, कानुन कार्यान्वयन गर्ने निकाय र राजनीतिज्ञ पनि संलग्न हुनुपर्ने उनको भनाइ छ। अमेरिकाले एआई नियमनका लागि कानुन बनाउनुपर्ने हो कि होइन भन्ने प्रश्नमा गेट्सले ‘बिल्कुल’ भन्दै जवाफ दिए। सरकारी नियमनले एआई उद्योगमा केही अतिरिक्त जिम्मेवारी थपे पनि विकासमा ठुलो ढिलाइ नहुने उनले बताए। एआईको विकासको गति र सुरक्षाबिचको सन्तुलनलाई लिएर प्रविधि क्षेत्रमा बहस निकै चर्किएको बेला उनको यस्तो भनाइ आएको हो। हालै एन्थ्रोपिकका सिइओ डारियो अमोदेईले एआई मोडलहरूको विकासको तीव्र गतिलाई केही सुस्त बनाउन र सुरक्षा मापदण्ड बलियो नभएसम्म आगामी प्रविधिको रिलिजमा ढिलाइ गर्न आग्रह गरेका थिए। उनको यो प्रस्तावलाई ओपनएआईका सिइओ साम अल्टम्यान र एक्सएआईका मालिक एलन मस्कले पनि समर्थन गरेका छन्। उनीहरूले एआईको तीव्र क्षमताका कारण मानव नियन्त्रण बाहिर जान सक्ने, साइबर सुरक्षा खतरा र अस्तित्वकै संकट निम्त्याउन सक्ने जोखिमबारे चिन्ता व्यक्त गर्दै आएका छन्। उनले अगस्टमा प्रकाशित लेखमा पनि एआईका सम्भावित जोखिमबारे चर्चा गरेका थिए। उनले एआईको गलत प्रयोगबाट साइबर आक्रमण, ठगी र गलत सूचना फैलिनुका साथै महत्त्वपूर्ण क्षेत्रमा समेत ठुलो क्षति हुन सक्ने बताएका थिए। गेट्सले एआईको विकास रोक्नुपर्ने धारणा भने राखेका छैनन्। बरु यसको फाइदा कायम राख्दै जोखिम कम गर्न सरकार र प्रविधि कम्पनीले मिलेर काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।