विशेष

भारत–चीनसँग निर्भर नेपालको बाह्य व्यापार, १२६ देशसँग कारोबार गर्दा ३० देशसँग मात्रै नाफा ।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-24
भारत–चीनसँग निर्भर नेपालको बाह्य व्यापार, १२६ देशसँग कारोबार गर्दा ३० देशसँग मात्रै नाफा ।
भारत–चीनसँग निर्भर नेपालको बाह्य व्यापार, १२६ देशसँग कारोबार गर्दा ३० देशसँग मात्रै नाफा । काठमाडौं । नेपालको बाह्य व्यापार भारत र चीनमै अत्यधिक केन्द्रित देखिएको छ। चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले १२६ देशसँग वस्तु व्यापार गरे पनि ३० देशसँग मात्रै व्यापार नाफामा रहेको छ भने ९६ देशसँगको व्यापार घाटामा रहेको छ । ठूलो कारोबार भएका प्रमुख व्यापारिक साझेदार भारत–चीनसँग भने नेपालले अर्बौं रुपैयाँको व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउन र भदौमा नेपालले ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । यस अवधिमा नेपालको कुल व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशत र निर्यात ६१.८६ प्रतिशतले बढेको हो । निर्यातको वृद्धिदर आयातको भन्दा झन्डै दोब्बर भए पनि आयातको आधार ठूलो भएकाले व्यापार घाटा घट्न सकेको छैन । बरु दुई महिनामा व्यापार घाटा २६.०२ प्रतिशतले बढेको छ । नेपालको बाह्य व्यापारमा भारत र चीनको हिस्सा सबैभन्दा ठूलो छ । पहिलो दुई महिनामा भारत र चीनबाट मात्रै करिब २ खर्ब ९७ अर्ब ४८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो कुल आयातको करिब ७४ प्रतिशत हो । भारतबाट २ खर्ब २१ अर्ब ८ करोड रुपैयाँ र चीनबाट ७६ अर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्याततर्फ भने दुई मुलुकसँगको अवस्था निकै फरक छ । भारततर्फ ६५ अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा चीनतर्फको निर्यात २९ करोड ३३ लाख रुपैयाँमा सीमित छ । यसले भारतसँग १ खर्ब ५५ अर्ब ६३ करोड रुपैयाँ र चीनसँग ७६ अर्ब १० करोड रुपैयाँ बराबरको व्यापार घाटा देखाएको छ । भारत र चीनबाट मात्रै भएको आयात कुल आयातको झन्डै तीनचौथाइ पुग्दा यी दुई मुलुकमा नेपालको निर्यात भने त्यसको तुलनामा निकै कम छ । दुई मुलुकसँग मात्रै भएको व्यापार घाटा करिब २ खर्ब ३१ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ । यसले नेपालको समग्र व्यापार घाटामा भारत र चीनसँगको कारोबारको ठूलो प्रभाव रहेको देखाउँछ । **उच्च व्यापार घाटा भएका देश** भारत र चीनपछि अर्जेन्टिनासँग नेपालको व्यापार घाटा ठूलो छ । पहिलो दुई महिनामा अर्जेन्टिनाबाट २८ अर्ब २० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट त्यहाँतर्फ २ करोड ४५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । अर्जेन्टिनासँगको व्यापार घाटा २८ अर्ब १७ करोड ५५ लाख रुपैयाँ पुगेको छ । त्यसपछि साउदी अरब, ब्राजिल, रुस, ओमान, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, कतार, बंगलादेश र इन्डोनेसिया प्रमुख घाटा भएका व्यापार साझेदारमा छन् । साउदी अरबसँग करिब ९ अर्ब ८४ करोड, ब्राजिलसँग ५ अर्ब ९० करोड, रुससँग ४ अर्ब ९९ करोड र ओमानसँग ३ अर्ब ७५ करोड रुपैयाँ व्यापार घाटा भएको छ । अस्ट्रेलियासँग करिब ३ अर्ब ६४ करोड, मलेसियासँग ३ अर्ब ४३ करोड, थाइल्यान्डसँग ३ अर्ब २१ करोड, कतारसँग ३ अर्ब १८ करोड, बंगलादेशसँग करिब ३ अर्ब र इन्डोनेसियासँग २ अर्ब ८६ करोड रुपैयाँ व्यापार घाटा देखिएको छ । अमेरिकासँग भने नेपालको व्यापार घाटा तुलनात्मक रूपमा कम छ । दुई महिनामा अमेरिकाबाट ६ अर्ब ५८ करोड २७ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट ४ अर्ब १५ करोड १८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब ४२ करोड ६५ लाख रुपैयाँ रहेको छ । **३० देशसँग मात्रै व्यापार नाफा** नेपालले धेरै मुलुकसँग व्यापार घाटा बेहोरे पनि केही मुलुकसँग भने आयातभन्दा बढी निर्यात गरेको छ । देशगत तथ्यांकमा सकारात्मक व्यापार सन्तुलन भएका ३० देश देखिएका छन् । तर, तीमध्ये अधिकांशसँग नेपालको व्यापार नाफा निकै सानो छ । सबैभन्दा ठूलो व्यापार नाफा डेनमार्कसँग भएको छ । दुई महिनामा डेनमार्कमा ३० करोड २५ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा त्यहाँबाट ८ करोड ८० लाख १३ हजार रुपैयाँको आयात भएको छ । यसबाट डेनमार्कसँग २१ करोड ४५ लाख २७ हजार रुपैयाँ व्यापार नाफा भएको छ । अस्ट्रियासँग ६ करोड ७४ लाख ७१ हजार रुपैयाँ व्यापार बचत भएको छ । अस्ट्रियामा १५ करोड ३२ लाख १४ हजार रुपैयाँको निर्यात हुँदा त्यहाँबाट ८ करोड ५७ लाख ४३ हजार रुपैयाँको वस्तु आयात भएको छ । नर्वेसँग ३ करोड ५७ लाख ४७ हजार, नाइजरसँग ३ करोड ८१ लाख ४३ हजार, आइसल्यान्डसँग १ करोड ४१ लाख र केन्यासँग १ करोड २१ लाख रुपैयाँ व्यापार नाफा भएको छ । फिनल्यान्डसँग १ करोड ६ लाख ९९ हजार, स्लोभाकियासँग ७६ लाख ६९ हजार, इराकसँग ६८ लाख ३९ हजार र नेदरल्यान्ड्ससँग ६६ लाख ५६ हजार रुपैयाँ व्यापार नाफा भएको तथ्यांकमा देखिन्छ । त्यस्तै जर्जियासँग ४९ लाख १६ हजार, माल्दिभ्ससँग ३७ लाख ७१ हजार, मंगोलियासँग ३५ लाख ७० हजार र साइप्रससँग २२ लाख ५१ हजार रुपैयाँ व्यापार नाफा भएको छ । लेबनानसँग १२ लाख ३७ हजार, किर्गिस्तानसँग १० लाख ३७ हजार, उज्बेकिस्तानसँग १० लाख ३२ हजार र फिजीसँग ७ लाख ४९ हजार रुपैयाँ व्यापार नाफा भएको छ । काजाकिस्तानसँग ७ लाख २२ हजार, एल साल्भाडोरसँग ६ लाख ९४ हजार, कोलम्बियासँग ३ लाख ६५ हजार, क्रोएसियासँग ३ लाख ६२ हजार र लिक्टेन्स्टाइनसँग ३ लाख ३२ हजार रुपैयाँ व्यापार नाफा भएको छ । बहामासँग ३ लाख रुपैयाँ, सिरियासँग १ लाख ४१ हजार, सोलोमन आइल्यान्ड्ससँग १ लाख १८ हजार, नामिबियासँग १ लाख ११ हजार र तुर्कमेनिस्तानसँग १ लाख ७ हजार रुपैयाँ व्यापार नाफा भएको छ । सियरा लियोनसँग भने ४८ हजार रुपैयाँको मात्र व्यापार नाफा देखिन्छ । यसरी हेर्दा व्यापार बचत भएका मुलुकको संख्या उल्लेख्य देखिए पनि बचतको आकार निकै सानो छ । अर्कोतर्फ घाटा भएका प्रमुख मुलुकसँग नेपालको कारोबार अर्बौं रुपैयाँमा छ । त्यसैले थोरै मुलुकसँग भएको सानो व्यापार बचतले भारत, चीन, अर्जेन्टिनालगायत मुलुकसँग भएको ठूलो घाटा पूर्ति गर्न सकेको छैन । **निर्यातको वृद्धिदर उच्च, घाटा भने बढ्यो** पहिलो दुई महिनामा नेपालको निर्यात ६१.८६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको साउन–भदौमा ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ पुगेको हो । आयात पनि ३१.५८ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । निर्यातको वृद्धिदर आयातको भन्दा करिब दोब्बर भए पनि आयातको आधार ठूलो भएकाले व्यापार घाटा २६.०२ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८३ करोड रुपैयाँ थियो । कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा पनि बढेको छ । गत वर्षको पहिलो दुई महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.४२ प्रतिशत रहेकामा यस वर्ष १६.०२ प्रतिशत पुगेको छ । आयातको हिस्सा ८३.९८ प्रतिशत छ । पहिलो दुई महिनामा नेपालको कुल वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ । निर्यात वृद्धिमा प्रशोधित वनस्पति तेलको योगदान ठूलो देखिएको छ । पहिलो दुई महिनामा करिब ३६ अर्ब ४ करोड रुपैयाँ बराबरको सोयाबिन तेल निर्यात भएको छ । अर्कोतर्फ सोयाबिन तेल नै प्रमुख आयातित वस्तुमध्ये एक हो । दुई महिनामा करिब ३८ अर्ब ५ करोड रुपैयाँ बराबरको सोयाबिन तेल आयात भएको छ । डिजेल र पेट्रोलको आयात पनि उच्च छ । सोयाबिन तेलको आयात र पुनःनिर्यातमा भएको कारोबारले निर्यातको वृद्धिमा योगदान दिएको देखिन्छ । त्यसैले निर्यातको रकम बढेको आधारमा मात्रै नेपालको घरेलु उत्पादन र मूल्य अभिवृद्धि पनि सोही अनुपातमा बढेको निष्कर्ष निकाल्न मिल्दैन । **बाढीपछि पनि व्यापारमा ठूलो संकुचन देखिएन ** पहिलो दुई महिनाको वैदेशिक व्यापारमा भदौ १० को रसुवा–भोटेकोशी बाढीपछि उत्तरी नाकामा आएको अवरोधको असर समग्र तथ्यांकमा ठूलो देखिएको छैन । रसुवागढी नाका प्रभावित भएपछि चीनसँगको व्यापारको केही हिस्सा मुस्ताङको कोरला नाकातर्फ सरेको छ । उपलब्ध विवरणअनुसार पहिलो दुई महिनामा कोरला नाकाबाट मात्रै करिब ८ अर्ब ३३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । रसुवा भन्सार कार्यालय बाढीबाट क्षतिग्रस्त भएपछि व्यापारका वैकल्पिक मार्ग प्रयोगमा आएका छन् । भन्सार विभागले रसुवाको बाढीपछि भन्सार बिन्दु परिवर्तन तथा आयात सहजीकरणसम्बन्धी सूचना पनि जारी गरेको छ । **संरचनागत असन्तुलन कायमै** पहिलो दुई महिनाको तथ्यांकले नेपालको वैदेशिक व्यापारको आधार विस्तार भए पनि संरचनागत असन्तुलन कायमै रहेको देखाउँछ । निर्यातको वृद्धिदर उच्च हुनु र कुल व्यापारमा निर्यातको हिस्सा बढ्नु सकारात्मक परिवर्तन भए पनि आयातको आकार अझै निर्यातभन्दा पाँच गुणाभन्दा बढी छ । देशगत तथ्यांकमा देखिएको अर्को महत्त्वपूर्ण पक्ष ठूलो कारोबार हुने प्रमुख साझेदारसँग नेपालको ठूलो व्यापार घाटा हुनु हो । भारत र चीनबाट मात्रै कुल आयातको करिब तीनचौथाइ हिस्सा आउँदा यी दुई मुलुकमा नेपालको निर्यात तुलनात्मक रूपमा निकै कम छ । अर्जेन्टिनालगायत अन्य प्रमुख आयात स्रोतसँग पनि यही अवस्था देखिएको छ । त्यसैले नेपालको व्यापार घाटाको प्रश्न कति देशसँग व्यापार भयो भन्नेभन्दा पनि ठूलो कारोबार भएका मुलुकसँग आयात र निर्यातको संरचना कस्तो छ भन्नेमा बढी केन्द्रित देखिन्छ । पहिलो दुई महिनामा ३० देशसँग व्यापार बचत भए पनि तीमध्ये अधिकांशसँगको बचत सानो छ । अर्कोतर्फ भारत, चीन र अर्जेन्टिनासँग मात्रै भएको ठूलो घाटाले समग्र व्यापार घाटालाई माथि तानेको छ । उत्पादन बढाएर निर्यातयोग्य वस्तुको आधार विस्तार गर्न नसक्दा र आयातमा निर्भरता उच्च रहँदा निर्यात बढेको अवस्थामा पनि व्यापार घाटाको आकार ठूलो रहने तथ्य पहिलो दुई महिनाको वैदेशिक व्यापार तथ्यांकले देखाएको छ ।