**११ असोज २०८३** पोखरा । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेपछि मनाङ, मुस्ताङ, म्याग्दी र बागलुङमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल विद्युत् प्राधिकरणले प्रभावित जिल्लामा विद्युत् सेवा पुनः सञ्चालनका लागि आवश्यक काम गरिरहेको जनाएको छ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ। कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत समस्या आएको छ । यसका कारण करिडोर प्रसारण लाइनमा जोडिएका करिब ३५८ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीको जोखिमका कारण कालीगण्डकी, माथिल्लो मादी, सुपर मादी, नामार्जुन मादी, सेती नदी, अपर दोर्दी, माथिल्लो मर्स्याङ्दी, मध्यमर्स्याङ्दी, मर्स्याङ्दी र मोदीलगायतका जलविद्युत् केन्द्रको उत्पादन सुरक्षाका लागि बन्द गरिएको छ। बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी तथा ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ । प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन, वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ। सम्भव भएका स्थानमा वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ । भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध भएका कारण केही क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको छ। सडक तथा पहुँचमार्ग खुल्नासाथ थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने प्राधिकरणले जनाएको छ । प्राकृतिक विपद्का कारण प्रभावित विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गर्न सबै उपलब्ध स्रोतसाधन उच्च प्राथमिकताका साथ परिचालन गरिएको प्राधिकरणले जनाएको छ । साथै, क्षतिग्रस्त विद्युत् संरचना, ढलेका पोल तथा तार नजिक नजान उपभोक्तालाई आग्रह गरिएको छ ।