महाकालीको बाढीले चर्चित झोलुङ्गे पुल बगायो, दोधारा चाँदनीको पैदल सम्पर्क टुट्यो
👤 सनस्टार संवाददाता |

महाकालीको बाढीले चर्चित झोलुङ्गे पुल बगायो, दोधारा चाँदनीको पैदल सम्पर्क टुट्यो
कञ्चनपुर — महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने चर्चित झोलुङ्गे पुलको एक भाग बगाएको छ।
बुधबार बिहान करिब ८ बजे महाकाली नदीमा आएको तीव्र बहावले पुलको बीच भागमा रहेको पिलर कटान गरी भत्काएपछि पुलको एक भाग नदीमा खसेर बगेको हो।
कञ्चनपुर प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनीतर्फबाट तेस्रो नम्बरमा पर्ने पिलर बाढीले कटान गरी भत्काएको थियो। पिलर भत्किएसँगै पुलको ठूलो भाग नदीमा खसेर बगेको प्रहरीले जनाएको छ।
एशियाकै लामो झोलुङ्गे पुलहरूमध्ये एक मानिने उक्त पुल भत्किएपछि दोधारा चाँदनी क्षेत्रका बासिन्दाको सदरमुकाम महेन्द्रनगर तथा छिमेकी नगरसँगको प्रत्यक्ष पैदल आवागमन अवरुद्ध भएको छ।
पुल बगाएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ भने बाढीका कारण थप क्षति हुन सक्ने जोखिमसमेत बढेको छ। घटनाबारे सुरक्षा निकायले थप विवरण संकलन गरिरहेको जनाएको छ।