राष्ट्रिय खेलकुदमा भाग लिने गण्डकीका खेलाडीलाई गरियो विदाइ, पदक जित्नेले नगद पुरस्कार पाउने पोखरा । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने गण्डकी प्रदेशका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकहरूलाई एक विशेष समारोहका बीच शुभकामनासहित विदाइ गरिएको छ। गण्डकी प्रदेशबाट यस संस्करणको राष्ट्रिय खेलकुदमा कुस्ती बाहेकका ३१ खेलमा कुल ६ सय २६ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। विदाइ कार्यक्रममा प्रदेशको गौरव बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई हौसला प्रदान गरिएको थियो। यसैबीच, दशौँ राष्ट्रिय खेलकुदमा पदक विजेता खेलाडीहरूलाई नगद पुरस्कारको समेत व्यवस्था गरिएको छ। प्रतियोगिताको इतिहासमै पहिलोपटक स्वर्णका साथै रजत र कास्य पदक जित्ने खेलाडीलाई समेत नगद पुरस्कार प्रदान गर्न लागिएको हो। घोषित पुरस्कार राशि विवरण:व्यक्तिगत विधातर्फ: स्वर्ण पदक विजेतालाई रु. २० हजार, रजत विजेतालाई रु. १५ हजार र कास्य पदक विजेतालाई रु. ८ हजार नगद प्रदान गरिनेछ। टिम इभेन्टतर्फ: प्रतिखेलाडी स्वर्ण पदक विजेतालाई रु. १५ हजार, रजत विजेतालाई रु. १० हजार र कास्य पदक विजेतालाई रु. ८ हजार नगद पुरस्कार दिइनेछ। यसअघिको नवौँ राष्ट्रिय खेलकुदमा प्रदेशतर्फ शीर्ष स्थान हासिल गरेको गण्डकीले यसपटक पनि टेनिस, आर्चरी, पुरुष भलिबल, फुटबल तथा मार्सल आर्ट्स लगायतका विधामा उच्च पदकको अपेक्षा राखेको छ।