**२०८३ कात्तिक ९ ** पोखरा । विश्व अर्थतन्त्रमा नेपाल ४५.५९ अर्ब अमेरिकी डलरको कुल गार्हस्थ्य उत्पादनसहित १०३औँ स्थानमा रहेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को अक्टोबर २०२६ को प्रतिवेदनअनुसार सन् २०२६ को अन्त्यसम्म विश्व अर्थतन्त्र १२८ ट्रिलियन डलर नाघ्ने अनुमान छ। अमेरिका ३२.६४ ट्रिलियन र चीन २१.५५ ट्रिलियन डलरसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् भने भारत ४.०६ ट्रिलियन डलरसहित छैटौँ स्थानमा छ। **बाढी जोखिम न्यूनीकरणमा ४९.९ मिलियन डलर लगानी** सरकारले सन् २०२६ देखि २०३३ सम्म बाढी पूर्वसूचना प्रणाली विस्तार र चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन ४९.९ मिलियन अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ। छवटा प्रमुख नदी बेसिनमा पूर्वसूचना प्रणाली विस्तार, ५०३ मौसम केन्द्र स्वचालित बनाउने, सुर्खेत, पाल्पा र उदयपुरका राडार मर्मत तथा काठमाडौं उपत्यकामा नयाँ राडार स्थापना गर्ने योजना छ। व्यावसायिक प्रयोजनका विशेष मौसम पूर्वानुमानमा शुल्क लागे पनि जनसुरक्षा र अत्यावश्यक पूर्वसूचना निःशुल्क रहनेछन्। **विद्युत् निर्यातबाट तीन महिनामा १६ अर्ब आम्दानी** नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विद्युत् निर्यातबाट १६ अर्ब १५ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। एक महिनामा भारततर्फ ६३ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी भएको छ। बाढीका कारण रोकिएको बंगलादेशतर्फको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ। भारतले थप ३१ मेगावाट निर्यात क्षमता स्वीकृत गरेसँगै कुल स्वीकृत क्षमता करिब १ हजार १७९ मेगावाट पुगेको छ। **कृषि बीमामा सवा अर्ब अनुदान, सवारीसाधन ६२ लाख नाघे** पछिल्लो छ महिनामा कृषि तथा पशुपन्छी बीमाका ९५ हजार ३०९ बीमालेख जारी भएका छन्। सरकारले प्रिमियम अनुदानमा १ अर्ब २४ करोड २० लाख रुपैयाँ उपलब्ध गराएको छ। अर्कोतर्फ, आर्थिक वर्ष २०७३/७४ को २७ लाख ८३ हजार ४२८ बाट बढेर गत आर्थिक वर्षको अन्त्यसम्म देशभर दर्ता भएका सवारीसाधनको सङ्ख्या ६२ लाख ४९ हजार ७४२ पुगेको छ। कुल सवारीसाधनमध्ये ८१ प्रतिशत मोटरसाइकल तथा स्कुटर छन्। यात्रुवाहक सवारीसाधनको बिक्रीमा विद्युतीय सवारीको हिस्सा ६० प्रतिशतभन्दा बढी छ। **एनपीएल विजेतालाई १५ करोड पुरस्कार** नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले १५ करोड रुपैयाँ पाउने भएको छ। नेपाल क्रिकेट सङ्घका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार शीर्ष चार टोलीका लागि कुल ३० करोड रुपैयाँ छुट्याइएको छ। उपविजेताले आठ करोड, तेस्रो हुनेले चार करोड र चौथो हुनेले तीन करोड रुपैयाँ पाउनेछन्। प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी छन्। **मनास्लु पदमार्ग खुल्यो, स्याफ्रुबेसीमा बेलीब्रिज निर्माण तीव्र** बूढीगण्डकीमा अक्टोबर ११ मा आएको बाढीले क्षति पुर्‍याएका मनास्लु सर्किट र त्सुम उपत्यकाका पदमार्ग आंशिक मर्मतपछि पुनः सञ्चालनमा आएका छन्। माछाखोलासम्म सवारीसाधनबाट पुग्न सकिने तथा यारु बगरमा वैकल्पिक पदमार्ग बनाइएको छ। चार काठे पुल निर्माणसहितका कामपछि छेकम्पार र मु गुम्बासम्मको मार्ग खुलेको छ। यता, अगस्ट २६ को भोटेकोशी बाढीले पुल बगाएपछि स्याफ्रुबेसीमा तिहारअघि सम्पन्न गर्ने लक्ष्यसहित बेलीब्रिज निर्माण भइरहेको छ। स्याफ्रुबेसी–बृद्धिम पैदल पुलका लागि पनि सामग्री उपलब्ध गराउने काम अघि बढाइएको छ। **दाङका दुग्ध किसान मारमा, कुखुराको मासु सस्तियो** दाङमा किसानले भैँसीको दूध प्रतिलिटर बढीमा ७५ रुपैयाँ र गाईको ६५ रुपैयाँ पाउँदा उपभोक्ताले प्रतिलिटर १०० रुपैयाँसम्म तिर्नुपरेको छ। दही प्रतिलिटर १४०, पनिर प्रतिकिलो ९०० र घिउ १ हजार ४५० रुपैयाँ पुगेको छ। किसानले वैज्ञानिक मूल्य निर्धारण र लागतअनुसार उचित मूल्य मागेका छन्। दशैँपछि काठमाडौंमा कुखुराको माग घट्दा जिउँदो कुखुरा प्रतिकिलो २९० बाट २८० र तयारी मासु ४०० बाट ३८५ रुपैयाँमा झरेको छ। **बाढीपीडितलाई ब्रिटेन–नेपाल ट्रस्टको सहयोग** अगस्ट २६ को भोटेकोशी–रसुवा बाढीपीडितका लागि ब्रिटेन–नेपाल च्यारिटेबल ट्रस्टले पहिलो चरणमा तीन संस्थालाई अनुदान दिएको छ। अक्टोबर २३ मा बेलायती राजदूत रोब फेनले सानो पाइला, आमा सुरक्षा र इन्टरनेसनल नेपाल फेलोसिप यूकेलाई सहयोग हस्तान्तरण गरेका हुन्। सहयोग बालबालिका, महिला, गर्भवती तथा स्वास्थ्य उपचार आवश्यक पर्ने प्रभावितलाई लक्षित छ। **नेप्सेमा नयाँ बेन्चमार्क सूचक प्रस्ताव** नेपाल स्टक एक्सचेन्जले कारोबारयोग्य सार्वजनिक सेयरको वास्तविक अवस्था देखाउन ‘नेप्से बेन्चमार्क इन्डेक्स’ प्रस्ताव गरेको छ। हालको सूचकलाई ‘नेप्से अल इक्विटी इन्डेक्स’ नामले निरन्तरता दिइनेछ। नयाँ सूचकमा कारोबार नहुने संस्थापक, रणनीतिक र लक-इन सेयर समावेश गरिने छैन। नेप्सेले सन् १९९४ देखि मुख्य सूचक, सन् २००७ जनवरी १ देखि सेन्सेटिभ इन्डेक्स र सन् २००८ सेप्टेम्बर १५ देखि फ्लोट इन्डेक्स गणना गर्दै आएको छ। **डलरको बिक्रीदर १५२ रुपैयाँ २१ पैसा** नेपाल राष्ट्र बैंकले आइतबार अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५२ रुपैयाँ २१ पैसा निर्धारण गरेको छ। युरोको बिक्रीदर १७० रुपैयाँ ४७ पैसा, पाउन्डको २०३ रुपैयाँ ६८ पैसा र भारतीय १०० रुपैयाँको बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। कुवेती दिनारको बिक्रीदर ४९४ रुपैयाँ १९ पैसा तथा ओमानी रियालको ३९५ रुपैयाँ ३४ पैसा कायम छ। खुला बजारमा बैंकअनुसार विनिमयदर फरक हुन सक्छ। **सुन ११ हजार ७०० रुपैयाँले घट्यो** दशैँ बिदापछि खुलेको बजारमा सुन प्रतितोला ११ हजार ७०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि सुन प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि १९५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ९५५ रुपैयाँ कायम भएको छ।