**१८ कार्तिक २०८३** **भिचुक, कास्की **। कास्कीको अन्नपूर्ण गाउँपालिका–७, भिचुक गाउँमा तिहारको उमङ्गसँगै खेलकुद र संस्कृतिको उत्सव सुरु भएको छ। बराहथान युवा क्लबको २७औँ वार्षिकोत्सव तथा शुभ दीपावलीको अवसरमा आयोजित अन्तरगाउँस्तरीय भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०८३ को उद्घाटनसँगै गाउँमा मेलाको रौनक छाएको हो। कात्तिक १८ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने मेलामा खेलकुद र मनोरञ्जनलाई स्थानीय कला, संस्कृति तथा परम्परासँग जोडिएको छ। मेलाको मुख्य आकर्षणका रूपमा अन्तरगाउँस्तरीय भलिबल प्रतियोगिता रहनेछ भने एकल नृत्य, छेलो हान्ने, घैँटो फुटाउने, डोरी तान्ने र भाले झिक्ने जस्ता मौलिक तथा मनोरञ्जनात्मक प्रतियोगितासमेत आयोजना गरिने क्लबले जनाएको छ। कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गाउँमा आयोजना हुने यस्ता मेला तथा महोत्सव मनोरञ्जनका माध्यम मात्र नभई कला, संस्कृति र पुस्तौँदेखि चलिआएका परम्परा जोगाउने महत्वपूर्ण अवसर भएको बताउनुभयो। यस्ता कार्यक्रमले गाउँलेबीच आपसी सद्भाव र सामाजिक एकता बलियो बनाउनुका साथै स्थानीय कला, प्रतिभा र पहिचानलाई बाहिर चिनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो। अध्यक्ष केसीले भिचुक खेलमैदानको स्तरोन्नतिका लागि गाउँपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको स्मरण गराउँदै गाउँपालिकाको समग्र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो। स्थानीयस्तरमा खेलकुदका गतिविधि विस्तार गर्न उपयुक्त पूर्वाधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले यस्ता प्रतियोगिताले नयाँ खेलप्रतिभा पहिचान र प्रोत्साहनमा समेत टेवा पुर्‍याउने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा विशेष अतिथिका रूपमा गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरत मान गुरुङ र वडा नं. ४ का अध्यक्ष आइन्दल गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। स्थानीय समाजसेवी एवं तत्कालीन लुम्ले गाविसका पूर्वउपाध्यक्ष प्रेम बहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। क्लबका अध्यक्ष एवं वडा सदस्य गौ प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन क्लबका सचिव विद्या परियारले गर्नुभएको थियो। छ दिनसम्म चल्ने यस मेलाले भिचुकको स्थानीय पहिचान, मौलिक संस्कृति र खेलकुद प्रतिभालाई एउटै उत्सवमा जोड्ने अपेक्षा गरिएको छ। तिहारको उल्लाससँगै गाउँमा हुने खेलकुद प्रतिस्पर्धा, सांस्कृतिक प्रस्तुति र परम्परागत खेलले स्थानीयवासीसँगै छिमेकी गाउँका दर्शकलाई समेत आकर्षित गर्ने विश्वास आयोजकको छ।