२८औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार पौष ७ देखि १२ गतेसम्म हुने
👤 सनस्टार संवाददाता |

२८औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार पौष ७ देखि १२ गतेसम्म हुने
कोदोका परिकार, खेलकुद, कला–संस्कृति र पर्यटन प्रवर्द्धनमा जोड
कास्की।
कास्कीको अन्नपूर्ण गाउँपालिका–४, भदौरे देउरालीमा २८औँ भदौरे पञ्चासे कोदो महोत्सव तथा तमु ल्होसार–२०८३ आगामी पौष ७ गतेदेखि १२ गतेसम्म आयोजना हुने भएको छ।
भदौरे क्लबको आयोजनामा सञ्चालन हुने महोत्सवले स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, खेलकुद विकास, मौलिक कला तथा संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने उद्देश्य रहेको क्लबका अध्यक्ष एबम महोत्सवका संयोजन बिश्वदल गुरुङले बताए ।
महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता, कोदोबाट बनेका परिकारको प्रदर्शनी, कृषि प्रदर्शनी, सांस्कृतिक झाँकी, ठेलो प्रतियोगिता, ढिँडो खाने प्रतियोगिता, आमा समूहबीच रस्साकस्सी प्रतियोगिता तथा कोदोबाट बनेको स्थानीय मदिरा सेवन प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले बताए ।
त्यसैगरी, महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति तथा विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ । स्थानीय मौलिकता, परम्परा र सांस्कृतिक पहिचानलाई उजागर गर्दै मनोरञ्जनका साथै स्थानीय उत्पादनको प्रचारप्रसार गर्ने महोत्सवको लक्ष्य रहेको छ।
नेपालको परम्परागत तथा पोषणयुक्त खाद्यान्नका रूपमा रहेको कोदोको उत्पादन, उपयोग र महत्त्वबारे जनचेतना अभिवृद्धि गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको अध्यक्ष गुरुङको जिकिर छ। कृषि तथा स्थानीय उत्पादनको प्रवर्द्धन, किसानलाई प्रोत्साहन, मौलिक कला–संस्कृतिको संरक्षण र आन्तरिक पर्यटनको विकासमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तमु समुदायको महान् पर्व ल्होसारको अवसरसमेत पारेर आयोजना गरिने महोत्सवले सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
महोत्सवलाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न भदौरे क्लबले आवश्यक तयारी अघि बढाएको छ। विगतका महोत्सवमा सहयोग गर्ने मुख्य प्रायोजक, प्रायोजक, सहयोगी संघ–संस्था, सञ्चारकर्मी, दर्शक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार व्यक्त गगर्दै अध्यक्ष गुरुङले आगामी संस्करणलाई सफल बनाउन सबैको सहयोग, सद्भाव र सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेका छ्न ।