आँधीखोलामा एमालेको शक्ति प्रदर्शन, प्रशिक्षण कार्यक्रम मै एक दर्जनभन्दा बढी पार्टी प्रवेश
👤 सनस्टार संवाददाता |

आँधीखोलामा एमालेको शक्ति प्रदर्शन, प्रशिक्षण कार्यक्रम मै एक दर्जनभन्दा बढी पार्टी प्रवेश
संगठन सुदृढीकरणमा जोड, नेता–कार्यकर्ताको उत्साहपूर्ण सहभागिता
स्याङ्जा, असोज १७ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) आँधीखोला गाउँपालिका कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ। पार्टीको वैचारिक पक्ष, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा केन्द्रित प्रशिक्षणमा नेता तथा कार्यकर्ताको उल्लेख्य र उत्साहपूर्ण सहभागिता रहेको थियो।
कार्यक्रममा एमाले नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको विचार, संगठन निर्माण, कार्यकर्ताको भूमिका तथा वर्तमान राजनीतिक परिस्थितिका विषयमा प्रशिक्षण तथा मार्गदर्शन दिएका थिए। उनले संगठनलाई बलियो बनाउन स्थानीय तहसम्म पार्टी गतिविधिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
गाउँपालिका कमिटी अध्यक्ष शिवप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य सीता सुन्दास र प्रदेश कमिटी सचिव धनञ्जय दवाडी विशिष्ट अतिथिका रूपमा सहभागी थिए।
त्यस्तै प्रदेश कमिटी सचिवालय सदस्य देवेन्द्र गुरुङ, प्रदेश कमिटी सदस्य सुधीरकुमार पौडेल, जिल्ला कमिटी अध्यक्ष सूर्यप्रसाद गैरेलगायत जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो।
प्रशिक्षणका क्रममा पार्टीको नीति र विचारलाई जनस्तरसम्म पुर्याउने, संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा स्थानीय तहदेखि पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने विषयमा छलफल भएको सचिब दिपेन्द्र पौडेलले जानकारी दिए।
कांग्रेस परित्याग गरी एक दर्जनभन्दा बढी एमालेमा
कार्यक्रमकै अवसरमा नेपाली कांग्रेस परित्याग गरी एक दर्जनभन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्। एमाले प्रवेश गर्नेहरूमा आँधीखोला गाउँपालिका–३ का जसबहादुर विक, वडा नम्बर १ का किरण गुरुङ र वडा नम्बर ३ का गंगाबहादुर विकलगायत रहेका छन्।
नवप्रवेशीहरूलाई पूर्वअर्थमन्त्री पाण्डेसहित एमालेका नेताहरूले स्वागत गरेका थिए। पार्टी प्रवेशलाई स्थानीय एमालेले संगठन विस्तार र पार्टीप्रतिको आकर्षण बढ्दै गएको संकेतका रूपमा लिएको छ।
प्रशिक्षणमा देखिएको नेता–कार्यकर्ताको सहभागिता र उत्साहलाई एमाले आँधीखोलाले संगठन पुनः सक्रिय र चलायमान बन्दै गएको सन्देशका रूपमा व्याख्या गरेको छ।
एमालेले आगामी दिनमा संगठनलाई थप जनमुखी र प्रभावकारी बनाउँदै स्थानीय तहसम्म पार्टी गतिविधि विस्तार गर्ने तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने जनाएको छ। प्रशिक्षण र पार्टी प्रवेशले आँधीखोलामा एमालेको संगठनात्मक पुनर्सक्रियता र आगामी राजनीतिक गतिविधिका लागि नयाँ ऊर्जा थपेको आयोजक पक्षको बुझाइ छ।
कार्यक्रममा गाउँपालिका कमिटीका उपाध्यक्ष विष्णुबहादुर खत्रीले स्वागत मन्तव्य दिएका थिए भने सचिव दीपेन्द्र पौडेलले सञ्चालन गरेका थिए।