सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयले विद्यालयको पठनपाठन प्रभावित काठमाडौँ । सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयले विद्यालयको पठनपाठन प्रभावित हुन थालेको छ। निर्धारित समयभित्र पाठ्यक्रम पूरा गर्न कठिनाइ भइरहेको भन्दै शिक्षक तथा विद्यालय सञ्चालकहरूले थप शिक्षण समय आवश्यक रहेको बताएका छन्। गत चैतदेखि शनिबार र आइतबार विद्यालय बन्द गर्ने व्यवस्था लागू भएपछि नियमित पठनपाठनका दिन घटेका छन्। त्यसको प्रत्यक्ष असर पाठ्यक्रम पूरा गर्ने समय र विद्यार्थीको सिकाइ उपलब्धिमा परेको सरोकारवालाहरूको भनाइ छ। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) की वरिष्ठ उपाध्यक्ष दीपा रिमाल थापाका अनुसार पाठ्यक्रममा परिवर्तन नगरी बिदा थपिएकाले निर्धारित समयमै कोर्स सक्न कठिन भइरहेको छ। चाडपर्वलगायत अन्य बिदासमेत जोडिँदा विद्यालयमाथि थप दबाब परेको उनको भनाइ छ।  विद्यालयले आफैँ एक दिन थप कक्षा सञ्चालन गर्न मिल्छ? दुई दिने बिदाको निर्णय कार्यान्वयनसँगै विद्यालयले आफ्नो आवश्यकताअनुसार थप एक दिन कक्षा सञ्चालन गर्न पाउने वा नपाउने विषयमा पनि बहस सुरु भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसअघि विद्यालयहरूलाई सातामा पाँच दिन (सोमबारदेखि शुक्रबारसम्म) पूर्ण समय पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो। आइतबार कक्षा सञ्चालन गर्ने केही विद्यालयप्रति केन्द्रले असन्तुष्टि जनाउँदै पाँचदिने शैक्षिक प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न पत्राचारसमेत गरेको थियो।  तर विद्यालय शिक्षाको व्यवस्थापनमा स्थानीय तहको अधिकारसमेत जोडिने भएकाले विद्यालयले थप एक दिन कक्षा सञ्चालन गर्न चाहेमा सम्बन्धित स्थानीय तह र शिक्षा निकायसँग समन्वय गर्नुपर्ने देखिन्छ। संघीय सरकारको दुईदिने बिदासम्बन्धी निर्णयलाई विद्यालयले आफूखुसी उल्लङ्घन गर्न भने मिल्दैन। कार्यघण्टा कसरी पूरा गर्ने? पाठ्यक्रम विकास केन्द्रले दुईदिने बिदाका कारण अपुग हुने शिक्षण समयलाई परियोजना कार्य, प्रयोगात्मक अभ्यास तथा अतिरिक्त सिकाइ क्रियाकलापमार्फत पूर्ति गर्न सकिने व्यवस्था गरेको छ। त्यस्तै विद्यालयको हिउँदे तथा वर्षे बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गर्ने, दैनिक पठनपाठनको समय व्यवस्थापन गर्ने र शैक्षिक सत्रको अन्तिम १२ दिन परीक्षा तथा नतिजा प्रकाशनका लागि उपयोग गर्न सकिने व्यवस्था गरिएको छ।  शिक्षक तथा विद्यालय सञ्चालकहरूले भने पाठ्यक्रमको भार र उपलब्ध शिक्षण समयबीच तालमेल नमिल्दा विद्यार्थीको सिकाइ प्रभावित हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। अब मुख्य प्रश्न उठेको छ—सरकारले दुई दिन बिदा दिने निर्णय कायम राख्ने हो भने विद्यालयलाई आवश्यकताअनुसार थप एक दिन कक्षा सञ्चालन गर्ने अधिकार दिने कि पाठ्यक्रम र शैक्षिक कार्यतालिका नै पुनः समायोजन गर्ने?