युद्ध रुस–युक्रेनमा, लास नेपालमा : आखिर नेपाली युवाले कहिलेसम्म ज्यान गुमाउने? रोजगारीको सपना बोकेर रुस पुगेका नेपाली युवा युद्धको शिकार, घरघरमा शोक र बेपत्ता आफन्तको प्रतीक्षा पोखरा २ मंसिर रुस र युक्रेनबीच जारी युद्धको मूल्य नेपाली परिवारले चुकाउनुपरेको छ। रोजगारी र राम्रो भविष्यको सपना बोकेर रुस पुगेका नेपाली युवा युद्धभूमिमा ज्यान गुमाइरहेका छन्। कसैको शव स्वदेश फर्किएको छ, कोही बेपत्ता छन् भने कतिपय परिवार आफ्ना आफन्त जीवित छन् कि छैनन् भन्ने अन्योलमा छन्। युद्ध सुरु भएको चार वर्ष पुग्न लाग्दा पनि नेपाली युवाको रुसी सेनामा भर्ती हुने क्रम र त्यसबाट उत्पन्न मानवीय संकट गम्भीर बन्दै गएको छ। रोजगारीको अभाव, आर्थिक दबाब, दलालको प्रलोभन र छोटो समयमै आर्थिक अवस्था सुधार्ने चाहनाले युवालाई जोखिमपूर्ण बाटोमा धकेलेको देखिन्छ। युद्धको मूल्य नेपाली परिवारले किन चुकाउने? विदेशमा रोजगारी खोज्दै गएका नेपाली युवा विदेशी युद्धका लागि प्रयोग हुनु राष्ट्रिय चिन्ताको विषय हो। आकर्षक तलब, सुविधा र रुसी नागरिकताको प्रलोभनमा परेर सेनामा भर्ती भएका युवाले अन्ततः जीवन नै गुमाउनुपर्ने अवस्था सिर्जना भएको छ। युद्धभूमिमा मृत्यु भएकाहरूको शव पहिचान र स्वदेश फिर्तीसमेत सहज छैन। कतिपय परिवारले आफन्तको मृत्युको खबर पाए पनि शव पाउन सकेका छैनन्। बेपत्ता भएकाहरूको अवस्था सार्वजनिक नहुँदा परिवारको पीडा झन् बढेको छ। सरकारले युद्धग्रस्त मुलुकमा सुरक्षा तथा सैन्य सेवासम्बन्धी काममा नजान आग्रह गर्दै आएको छ। तर मानव तस्करी र गैरकानुनी भर्तीको सञ्जाल नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसक्दा नेपाली युवाहरू जोखिममा पर्ने क्रम रोकिएको छैन। सरकारको जिम्मेवारी के? अब सरकारले बेपत्ता नेपालीको वास्तविक अवस्था तत्काल सार्वजनिक गर्न कूटनीतिक पहल तीव्र बनाउनुपर्छ। युद्धमा मृत्यु भएकाहरूको पहिचान, शव व्यवस्थापन र स्वदेश फिर्तीलाई प्राथमिकता दिनुपर्छ। घाइतेको उद्धार तथा उपचार र मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि प्रभावकारी पहल आवश्यक छ। त्यसैगरी नेपाली युवालाई प्रलोभनमा पारेर रुसी सेनामा भर्ती गराउने दलाल, मानव तस्कर र गैरकानुनी एजेन्टमाथि कडा कारबाही हुनुपर्छ। विदेशमा रोजगारीको नाममा युद्धमा पठाउने सञ्जाल नियन्त्रण गर्न राज्यले विशेष अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ। रुस र युक्रेनबीचको युद्ध कहिले अन्त्य हुन्छ भन्ने निश्चित छैन। तर युद्धका नाममा नेपाली युवाले ज्यान गुमाउने र उनीहरूका परिवारले जीवनभर पीडा भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ। युद्ध रुस–युक्रेनमा भइरहेको छ, तर त्यसको पीडा नेपाली घरआँगनमा आइपुगेको छ। आखिर रोजगारी खोज्न विदेशिएका नेपाली युवा विदेशी युद्धमा ज्यान गुमाउनुपर्ने अवस्थामा कहिलेसम्म रहने? राज्यले यसको जवाफ दिनुपर्छ।