**काठमाडौं, असोज १९ ।** नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनमा निर्वाचनपूर्व कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने प्रस्ताव अघि सारेका छन्। सभापति थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस आगामी निर्वाचनमा आफ्नै चुनाव चिह्न ‘रुख’, आफ्नै उम्मेदवार र आफ्नै राजनीतिक एजेन्डासहित जनतामाझ जानुपर्ने प्रस्ताव गरिएको छ। निर्वाचनपूर्व हुने गठबन्धनले पार्टीको संगठन, विचार र जनमतलाई कमजोर बनाउन सक्ने भन्दै कांग्रेसले आफ्नै बलमा निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने धारणा प्रतिवेदनमा समेटिएको छ। प्रतिवेदनमा उम्मेदवार छनोट गर्दा गुट, पहुँच र संरक्षणभन्दा योग्यता, योगदान र कार्यसम्पादनलाई प्राथमिकता दिनुपर्ने प्रस्ताव गरिएको छ। पार्टीभित्र लामो समयदेखि देखिँदै आएको गुटगत प्रभावलाई न्यूनीकरण गर्दै योग्य र जनतामाझ लोकप्रिय व्यक्तिलाई उम्मेदवार बनाउने प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ। त्यस्तै, उम्मेदवार छनोट प्रक्रियालाई थप लोकतान्त्रिक र पारदर्शी बनाउन प्राइमरी निर्वाचन, सार्वजनिक मतसर्वेक्षण तथा पार्टी सदस्यको प्रत्यक्ष मतलाई महत्व दिने प्रस्ताव पनि प्रतिवेदनमा गरिएको छ। थापाको प्रतिवेदनमा पार्टीका अधिवेशन वा उम्मेदवारी प्रक्रियालाई प्रभावित पार्ने उद्देश्यले अन्तिम समयमा सदस्यतासम्बन्धी नियम परिवर्तन नगर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। पार्टीका आन्तरिक निर्वाचन र उम्मेदवार छनोट प्रक्रियामा निष्पक्षता, पारदर्शिता र समान अवसर सुनिश्चित गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। कांग्रेसले आगामी निर्वाचनलाई पार्टीको संगठनात्मक क्षमता, नीति, कार्यक्रम र नेतृत्वको परीक्षणका रूपमा लिनुपर्ने थापाको प्रस्तावमा उल्लेख छ। जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको आफ्नै विचार, कार्यक्रम र उम्मेदवार लिएर निर्वाचनमा जाने वातावरण निर्माण गर्नुपर्नेमा पनि प्रतिवेदनले जोड दिएको छ। सभापति थापाको यो प्रस्ताव कार्यान्वयनमा आए आगामी निर्वाचनमा कांग्रेसले निर्वाचनपूर्व गठबन्धन नगरी आफ्नै संगठन र जनमतको आधारमा प्रतिस्पर्धा गर्ने राजनीतिक रणनीति अवलम्बन गर्ने देखिन्छ।