**३ मंसिर, २०८३** **​गण्डकी प्रदेश। **वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूको साझा संस्था 'आप्रवासी श्रमिक सञ्जाल' को प्रथम साधारण सभा तथा अधिवेशनबाट अध्यक्ष पदमा विष्णुहरी भुगाई निर्वाचित हुनुभएको छ। ​नवनिर्वाचित अध्यक्ष भुगाईले नवगठित कार्यसमितिले आगामी दिनमा वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पदभार ग्रहण तथा प्रतिबद्धता मन्तव्य राख्दै उहाँले भन्नुभयो, "वैदेशिक रोजगारीको सिलसिलामा पसिना बगाएर स्वदेश फर्किएका श्रमिकहरूलाई समाज र राज्यका हरेक क्षेत्रमा सम्मानजनक रूपमा पुनःस्थापित गर्ने कार्यमा यो समिति हरपल क्रियाशील रहनेछ।" ​कार्यक्रमका प्रमुख अतिथि एवं सामाजिक विकास मन्त्रालय, प्रशासन तथा योजना शाखा प्रमुख प्रकाश चन्द्र ढुङ्गानाले वैदेशिक रोजगारीबाट फर्किएका (रिटर्नी) श्रमिक तथा वैदेशिक रोजगारीमा रहेकाहरूका परिवारलाई संगठित गर्दै उद्यमशीलतालाई प्रथम प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो। सीप र पुँजीको सही परिचालनमार्फत स्वदेशमै स्वरोजगार सिर्जना गर्न सके मात्र आर्थिक समृद्धि सम्भव हुने उहाँको भनाइ थियो। ​अधिवेशनमा शुभकामना मन्तव्य राख्दै सुरक्षित आप्रवासन (सामी) कार्यक्रमका गण्डकी प्रदेश व्यवस्थापक उमाकला शर्माले आप्रवासी श्रमिकहरू एकजुट भई वैदेशिक रोजगारीका क्षेत्रका विद्यमान समस्या र हकहितका मुद्दामा सशक्त रूपमा आवाज उठाउनुपर्नेमा जोड दिनुभयो। सोही अवसरमा आप्रवासी श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका उपाध्यक्षले समेत अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। ​सञ्जालका गण्डकी प्रदेश अध्यक्ष विष्णुहरी भुगाईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव दिपेन्द्र खनालले गर्नुभएको थियो। अधिवेशनबाट निर्वाचित नयाँ पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन मण्डलका संयोजक एवं लुम्बिनी प्रदेश सञ्जालका वरिष्ठ उपाध्यक्ष रामु भुसालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो। ​वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउने सन्देशमूलक विभिन्न नाराहरू वाचन गर्दै सञ्जालको प्रथम साधारण सभा एवं अधिवेशन भव्य रूपमा समापन गरिएको छ।