उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो चारदिने छठ पर्व काठमाडौँ।  काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै चारदिने छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ।  सूर्यदेवको उपासना गरी श्रद्धा र निष्ठापूर्वक मनाइने यस महापर्वको अन्तिम दिन बिहानैदेखि थापाथलीको छठ घाटमा व्रतालु तथा श्रद्धालु भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो। घाटमा भेला भएका व्रतालुहरूले नदीमा उभिएर उदाउँदो सूर्यलाई ‘उषा अर्घ्य’ दिएका थिए। उनीहरूले सूर्यदेवको आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं सन्तानको दीर्घायुको कामना गरे।  आइतबार साँझ अस्ताउँदो सूर्यलाई सन्ध्याकालीन अर्घ्य दिएका व्रतालुहरूले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य चढाएपछि चार दिन लामो कठोर व्रतको समापन गरेका हुन्। चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ र दोस्रो दिन ‘खरना’ गरिएको थियो। तेस्रो दिन अस्ताउँदो सूर्यलाई सन्ध्या अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई उषा अर्घ्य दिने परम्परा अनुसार आजको पूजा सम्पन्न भएको हो। पूजा समापनपछि व्रतालुहरूले एक-आपसमा पवित्र प्रसाद ग्रहण तथा वितरण गरेका छन्।