एक दशकको यात्रा पूरा गर्दै माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, सामाजिक सेवा र खेलकुद प्रवर्द्धनमा नयाँ प्रतिबद्धता
👤 सनस्टार संवाददाता |

***एक दशकको यात्रा पूरा गर्दै माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, सामाजिक सेवा र खेलकुद प्रवर्द्धनमा नयाँ प्रतिबद्धता
***
१०औँ वार्षिक उत्सव भव्य रूपमा सम्पन्न, विदेशमा रहेर सहयोग गर्ने सल्लाहकारद्वय सम्मानित; साइबर अपराधविरुद्ध जनचेतना फैलाउन जोड
माछापुच्छ्रे, कास्की ।
माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले आफ्नो स्थापनाको १०औँ वार्षिक उत्सव विभिन्न कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। एक दशक लामो यात्राको समीक्षा गर्दै क्लबले आगामी दिनमा सामाजिक सेवा, खेलकुद प्रवर्द्धन र युवा सशक्तीकरणका गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
क्लबका अध्यक्ष पवन शर्माको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी, युवा, खेलाडी तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि पूर्वखेलाडी तथा माछापुच्छ्रे गाउँपालिका–४ का जनप्रतिनिधि अर्जुन अधिकारीले क्लबले खेलकुद र सामाजिक क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा गतिविधिहरू थप विस्तार गर्नुपर्ने बताउनुभयो। उहाँले युवालाई नकारात्मक गतिविधिबाट टाढा राख्दै सिर्जनात्मक र उत्पादनशील कार्यमा जोड्न खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि तथा क्लबका सल्लाहकार पानबहादुर जिसीले पछिल्लो समय बढ्दै गएका आपराधिक गतिविधिप्रति सचेत हुन आग्रह गर्दै साइबर अपराधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। क्लबले खेलकुदसँगै सामाजिक सचेतना र समुदायको हितमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
सो अवसरमा विदेशमा रहेर पनि क्लबलाई निरन्तर आर्थिक तथा नैतिक सहयोग पुर्याउँदै आउनुभएका सल्लाहकारद्वय राजेन्द्र गौतम र राजेश घलेलाई सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो। क्लबले उहाँहरूको योगदानको उच्च कदर गर्दै सम्मान गरेको जनाएको छ।
कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष निरज शाहीसहित स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरूको उपस्थिति रहेको थियो। प्रमुख अतिथि अर्जुन अधिकारी, सम्मानित व्यक्तित्व राजेन्द्र गौतम, राजु नेपाली, राजेश घले र सनम नेपालीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै क्लबको निरन्तर प्रगति र सफलताको कामना गर्नुभयो।
क्लबका सचिव सुशील श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो। साथै आगामी दिनमा सामाजिक, खेलकुद तथा रचनात्मक गतिविधिलाई थप प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक परिवर्तन ल्याउने विषयमा छलफल गरिएको थियो।
क्लबको १०औँ वार्षिक उत्सवले स्थानीय युवालाई एकताबद्ध गर्दै खेलकुद, सामाजिक सेवा र जनचेतनामूलक गतिविधिमार्फत समाजमा सकारात्मक योगदान पुर्याउने प्रतिबद्धतालाई थप मजबुत बनाएको छ।