शंकरपोखरीमा प्रथम शंकरपोखरी भलिबल कप आयोजना हुँदै, विजेतालाई ५० हजार पुरस्कार पर्वत । शुभ दीपावलीको अवसर पारेर पर्वतको फलेबास नगरपालिका–३, शंकरपोखरीमा प्रथम शंकरपोखरी भलिबल कप–२०८३ आयोजना हुने भएको छ। शंकरपोखरी युवा सर्कलको आयोजनामा आगामी कात्तिक २० देखि २२ गतेसम्म पोखरा चौरस्थित श्रीराम माध्यमिक विद्यालयको प्राङ्गणमा खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुन लागेको हो। युवा तथा नवप्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने, स्थानीय खेल प्रतिभाको पहिचान गर्ने तथा खेलकुदमार्फत आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष बिनोद कुमार सुनारले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले ५० हजार १११ रुपैयाँ, द्वितीयले ३० हजार १११ रुपैयाँ र तृतीय हुने टोलीले १८ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै, उत्कृष्ट खेलाडीलाई तीन हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ। बेस्ट स्पाइकर, लिबेरो, ब्लकर, सर्भर र कोचलाई पनि विधागत पुरस्कार प्रदान गरिने समेत अध्यक्ष सुनारले बताए । प्रतियोगितामा सहभागी हुन चार हजार रुपैयाँ टिम दर्ता शुल्क निर्धारण गरिएको छ। आयोजक शंकरपोखरी युवा सर्कलले प्रतियोगिता सफल बनाउन देश तथा विदेशमा रहेका शंकरपोखरीवासी, समाजसेवी, व्यवसायी, बुद्धिजीवी, खेलप्रेमी तथा शुभचिन्तकलाई आर्थिक, नैतिक र भौतिक सहयोगका लागि अपिल गरेको छ। आयोजकका अनुसार प्रतियोगिता स्थानीय युवालाई खेलकुदमा जोड्ने र गाउँको खेलकुद पहिचान स्थापित गर्ने साझा अभियानका रूपमा सञ्चालन गर्न लागिएको हो।