**२१ असाेज २०८३** **पोखरा** । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्वका लागि उम्मेदवारी दर्ता भएसँगै पार्टीको नयाँ कार्यसमितिमा पुरानो पुस्ताको निरन्तरता र नयाँ पुस्ताको हस्तक्षेप दुवै देखिएको छ। सभापतिदेखि महामन्त्रीसम्मका प्रमुख पदमा लामो समय पार्टी राजनीतिमा रहेका नेताहरूको बाहुल्य छ। तर केन्द्रीय सदस्यतर्फ भने युवाको उल्लेख्य सहभागिताले कांग्रेसको आगामी नेतृत्व संरचनामा पुस्तान्तरणको बहसलाई थप बल दिएको छ। पार्टीले नेतृत्व व्यवस्थापन र विभिन्न समूहलाई समेट्ने गरी पदाधिकारीको संख्या १४ बाट बढाएर २५ पुर्‍याएको छ। वरिष्ठ उपसभापतिसहित पाँच उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। चार सहमहामन्त्री र कोषाध्यक्ष भने सभापतिले मनोनयन गर्ने प्रावधान छ। सभापतिका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गीले उम्मेदवारी दिएका छन्। विशेष महाधिवेशनबाट सभापति बनेका थापा प्रमुख दाबेदारका रूपमा मैदानमा रहँदा राठौर र खड्गीले पनि प्रतिस्पर्धालाई त्रिपक्षीय बनाएका छन्। राठौर १४औँ महाधिवेशनमा सहमहामन्त्री निर्वाचित भएका थिए। उम्मेदवारी दर्तापछि उनले यसपटक पराजित भए पनि १६औँ महाधिवेशनमा सभापति जित्ने तयारीमा रहेको बताएका छन्। खड्गीले भने आफ्नो उम्मेदवारी आन्तरिक लोकतन्त्रलाई जीवन्त बनाउनका लागि भएको बताएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भएका छन्। दुवै यसअघि उपसभापति थिए। वरिष्ठ उपसभापतिको पद भने यसै महाधिवेशनबाट विधान संशोधन गरी थप गरिएको हो। समावेशी उपसभापतिका लागि जीवन परियार, विनोद चौधरी, फरमुल्ला मन्सुर, सीता गुरुङ र रञ्जित कर्णबीच प्रतिस्पर्धा हुँदैछ। खुला उपसभापतिमा मीनेन्द्र रिजाल, गोविन्द भट्टराई, चन्द्र भण्डारी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, मधुप्रसाद आचार्य, देवराज चालिसे, दीपक गिरी र चन्द्रमोहन यादव उम्मेदवार छन्। तीन महामन्त्रीका लागि ११ जना प्रतिस्पर्धामा छन्। खुला दुई पदका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, सुनील शर्मा, सन्तोष उपाध्याय र शंकर तिवारी मैदानमा छन्। महिला महामन्त्रीतर्फ महालक्ष्मी उपाध्याय ‘डिना’, डिला संग्रौला र खनालले उम्मेदवारी दिएका छन्। सहमहामन्त्रीतर्फ पनि विभिन्न समावेशी समूहबाट ठूलो संख्यामा उम्मेदवारी परेको छ। खसआर्य, आदिवासी जनजाति, महिला, मधेशी, मुस्लिम, थारू, दलित, पिछडिएको क्षेत्र तथा अल्पसंख्यक/अपांगता समूहका लागि छुट्टाछुट्टै प्रतिनिधित्वको व्यवस्था गरिएको छ। **युवाको बढ्दो दाबी** कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिमा युवाको प्रतिनिधित्वका लागि ३५ वर्षमुनिका युवाबीचबाट २१ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ। यही व्यवस्थाका कारण युवा पुस्तामा केन्द्रीय सदस्यका लागि आकर्षण बढेको देखिएको छ। युवा क्लस्टरमा मात्र नभई अन्य क्लस्टर तथा खुला प्रतिस्पर्धामा समेत युवाले उम्मेदवारी दिएका छन्। महाधिवेशनकी कान्छी प्रतिनिधि १८ वर्षीया अभिप्सा पौडेलले समेत बागमती प्रदेशबाट युवा महिला क्लस्टरमा केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएकी छन्। कांग्रेस नेता देवराज चालिसेका अनुसार केन्द्रीय सदस्यमा ठूलो संख्यामा युवाको उम्मेदवारी परेको छ। उम्मेदवारको अन्तिम संख्या यकिन हुन बाँकी रहे पनि नयाँ कार्यसमितिमा युवाको दबाब बढ्ने उनको भनाइ छ। कांग्रेसको महाधिवेशनमा ७ हजार २५५ प्रतिनिधि सहभागी छन्। प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षसम्मका तीन युवा महाधिवेशन प्रतिनिधि बन्ने व्यवस्था गरिएको थियो। युवा कोटाबाहेकबाट समेत प्रतिस्पर्धा गरेर युवा प्रतिनिधि बनेका छन्। **२९७ सदस्यीय केन्द्रीय कार्यसमिति** महाधिवेशनबाट कांग्रेसको २९७ सदस्यीय केन्द्रीय कार्यसमिति गठन हुनेछ। पदाधिकारीबाहेक २११ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् भने ६६ सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ। नेतृत्व व्यवस्थापनका लागि पदाधिकारीको संख्या बढाइए पनि उम्मेदवारको चाप भने कायमै देखिएको छ। सभापति थापा स्वयं आकांक्षी व्यवस्थापनमा सक्रिय देखिएका छन्। कतिपय नेतालाई उम्मेदवारी दिन आग्रह गरिएको र कतिपयलाई पछि हट्न अनुरोध गरिएको नेताहरूले बताएका छन्। थापाले विशेष महाधिवेशनमा सहभागी र सहभागी नभएका नेताबीचको विभाजन अन्त्य गर्दै सबैलाई पार्टीको मूलधारमा जोडेर अघि बढ्नुपर्ने बताएका छन्। प्रतिस्पर्धाका क्रममा योग्य र अनुभवी नेताहरू बाहिरिन सक्ने अवस्थालाई ध्यानमा राखेर सकेसम्म सबैलाई समेट्ने प्रयास भइरहेको उनको भनाइ छ। यसपटकको महाधिवेशनले कांग्रेसमा एकातर्फ अनुभवी नेताहरूबीचको शक्ति प्रतिस्पर्धालाई निरन्तरता दिएको छ भने अर्कोतर्फ ठूलो संख्यामा युवाको उम्मेदवारीमार्फत नयाँ पुस्ताको दाबी पनि बलियो रूपमा प्रस्तुत गरेको छ। अब बन्ने २९७ सदस्यीय केन्द्रीय कार्यसमितिमा पुरानो अनुभव र नयाँ पुस्ताबीचको प्रतिनिधित्व कसरी सन्तुलित हुन्छ भन्ने विषय महाधिवेशनको मुख्य चासो बनेको छ।