वैदेशिक रोजगारीको नाममा ठगी : दुई पूर्वमन्त्रीसहित ६ जना चार दिन हिरासतमा :
👤 सनस्टार संवाददाता |

**३ मंसिर, २०८३**
**काठमाडौं** । वैदेशिक रोजगारीको नाममा ठगी तथा संगठित अपराध गरेको आरोपमा पक्राउ परेका दुई पूर्वमन्त्रीसहित ६ जनालाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौं जिल्ला अदालतले बिहीबार उनीहरूलाई थप अनुसन्धानका लागि चार दिनको म्याद थप गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका व्यक्तिहरूमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् ।
यसैगरी पक्राउ पर्ने अन्यमा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेकी छन् ।
सीआईबीका अनुसार उनीहरूमाथि वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोप छ ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको दाबी छ ।
सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याइएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
पक्राउ परेकाहरूमाथि ठगी, संगठित अपराध र विदेशी मुद्रा अपचलनसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।