सूर्यतारा महोत्सवको भजन प्रतियोगितामा १० टिमलाई मात्रै अवसर
👤 सनस्टार संवाददाता |

सूर्यतारा महोत्सवको भजन प्रतियोगितामा १० टिमलाई मात्रै अवसर
पोखरा ।
सूर्यतारा क्लब पोखराको आयोजनामा हुने चौथो सूर्यतारा खेलकुद तथा सांस्कृतिक महोत्सव–२०८३ मा खुल्ला भजन प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगितामा बढीमा १० समूहलाई मात्र सहभागी गराइने क्लबका सचिव सरस्वती श्रेष्ठले जानकारी दिइन्।
मंसिर १९ देखि २१ गतेसम्म पोखरा–२७ मा सञ्चालन हुने महोत्सवअन्तर्गत प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगितामा सहभागी हुन ५०० रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ। दर्ताको अन्तिम मिति मंसिर १७ गते रहेको छ।
प्रतियोगितामा प्रथम हुने समूहले ३३ हजार ३३३ र द्वितीय हुने समूहले २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
क्लबका अध्यक्ष विष्णु पुनले नेपाली मौलिक कला, संस्कृति र धार्मिक परम्पराको संरक्षण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
महोत्सवमा खुल्ला फुटसल, जातीय झाँकी, भजन, स्लो स्कुटर रेस तथा डोरीतानलगायत प्रतियोगिता सञ्चालन हुनेछन्। भजन प्रतियोगिता पोखरा–२७, तालचोकस्थित काइट्स स्पोर्ट्समा हुनेछ।