**५ मङ्सिर, २०८३** **भोजपुर** । भोजपुरका पहाडी भेगमा चिराइतो उत्पादन बढे पनि बजारमा मूल्य घटेपछि किसानको आम्दानी खुम्चिएको छ । गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य प्रतिमन (४० केजी) ५ हजारदेखि १० हजार रुपैयाँसम्म घटेको हो । उत्पादन बढेको र बिक्रीका लागि चिराइतो तयार भएको अवस्थामा बजार भाउ घटेपछि किसान तथा व्यवसायी चिन्तित बनेका छन् । टेम्केमैयुङ गाउँपालिका–१, तिम्माका किसान तथा व्यवसायी उपेन्द्र राउतका अनुसार अहिले चिराइतो प्रतिमन २० हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष यही समयमा प्रतिमन २५ हजारदेखि ३० हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको थियो । मूल्यमा आएको गिरावटले उत्पादन बढे पनि किसानले अपेक्षित आम्दानी लिन नसकेको राउतले बताए । उनका अनुसार यस वर्ष तिम्मा क्षेत्रमा मात्रै करिब ५०० मन चिराइतो उत्पादन भएको छ । उत्पादन बढे पनि बजार मूल्य घट्दा किसानको उत्साहमा कमी आएको छ । चिराइतो खेती र संकलनमा मेहनत गरेका किसानले उचित मूल्य नपाउँदा लगानीअनुसारको प्रतिफल पाउन सकेका छैनन् । राउतले यस वर्ष हालसम्म करिब २०० मन चिराइतो संकलन गरिसकेका छन् । आफ्नै घरमा समेत बिक्रीका लागि करिब १० मन चिराइतो रहेको उनले जानकारी दिए । उत्पादन भएको चिराइतो बिक्रीका लागि तयार भए पनि बजारमा उचित मूल्य नपाउँदा किसानले बिक्री गर्न हतार नगरेको उनको भनाइ छ । चीनतर्फको नाका बन्द हुँदा चिराइतोको निकासी तथा बजार कारोबार प्रभावित भएको राउत बताउँछन् । निकासी सहज नहुँदा बजारमा माग र बिक्रीको अवस्था कमजोर बनेको उनको भनाइ छ । “उत्पादन बढेको छ, तर बजारमा मूल्य घटेको छ । निकासी सहज नहुँदा किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्,” उनले भने । चिराइतोको उत्पादनदेखि संकलन, ओसारपसार र बिक्रीसम्मका काममा स्थानीय किसान तथा व्यवसायी संलग्न छन् । यसबाट किसानले परम्परागत खेतीपातीबाहेक अतिरिक्त आम्दानी गर्दै आएका छन् । तर बजार मूल्यमा हुने उतारचढाव र निकासीमा देखिने अवरोधले उनीहरूको आम्दानीमा प्रत्यक्ष असर पार्ने गरेको छ । स्थानीय किसानले चिराइतोको बजार व्यवस्थापन र निकासी सहज बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उत्पादन बढेको अवस्थामा बजारको उचित व्यवस्थापन गर्न सके किसानले राम्रो आम्दानी लिन सक्ने उनीहरूको अपेक्षा छ । चिराइतोको मूल्यमा स्थिरता र बजारको सुनिश्चितता नहुँदा भने किसानको मेहनतले अपेक्षित प्रतिफल पाउन सकेको छैन ।