२७औँ आदर्श कप माघ २३ देखि, तयारीमा जुट्यो आदर्श युवा क्लब
👤 सनस्टार संवाददाता |

२७औँ आदर्श कप माघ २३ देखि, तयारीमा जुट्यो आदर्श युवा क्लब
पोखरा ।
पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित आदर्श युवा क्लबले २७औँ आदर्श कप फुटबल प्रतियोगिता आगामी माघ २३ गतेदेखि फागुन १ गतेसम्म आयोजना गर्ने भएको छ।
फुटबल खेलको विकास, स्थानीय तथा राष्ट्रिय स्तरका खेलाडीको प्रतिभा पहिचान र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले क्लबले लामो समयदेखि आदर्श कप सञ्चालन गर्दै आएको छ। प्रतियोगिताले पोखरा तथा आसपासका क्षेत्रको फुटबल गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
क्लबका अध्यक्ष विष्णु हमालले २७औँ संस्करणको प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगितालाई सफल बनाउन खेलप्रेमी, स्थानीय संघसंस्था, व्यवसायी तथा सरोकारवाला निकायसँग सहकार्य गरिनेछ।
वि.सं. २०५४ देखि फुटबल गतिविधिलाई प्राथमिकता दिँदै आएको क्लबले यस प्रतियोगितालाई आफ्नो खेलकुद अभियानको निरन्तरताका रूपमा अघि बढाएको छ। २७औँ संस्करणले नयाँ खेल प्रतिभा उत्पादन तथा स्थानीय खेलकुदको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।
क्लबले प्रतियोगितालाई सफल बनाउन सम्पूर्ण खेलप्रेमी तथा सरोकारवालासँग सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।