**१८, असोज २०८३** **काठमाडौ ** । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो २ बजे हुने कांग्रेसले जनाएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार यसपटकको महाधिवेशन नेतृत्व चयनभन्दा पनि पार्टीको नीति, आगामी दिशा र राजनीतिक भविष्यमा केन्द्रित हुनेछ। ऐतिहासिक टुँडिखेलमा आयोजना हुन लागेको महाधिवेशनलाई वातावरणमैत्री र तामझामविहीन बनाउने तयारी गरिएको छ। महाधिवेशनमा देशभरबाट ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। ३५ वर्षमुनिका युवादेखि महिला, दलित, आदिवासी–जनजाति, पिछडा वर्ग, श्रमिक, पेशागत समूह तथा विदेशमा रहेका नेपालीको समेत प्रतिनिधित्व रहने कांग्रेसले जनाएको छ। कांग्रेसको महाधिवेशन प्रक्रिया असोज ३ र ४ गते वडा अधिवेशनबाट सुरु भएको थियो। असोज ७ गते पालिका तथा असोज १० गतेदेखि प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका थिए। आइतबार उद्घाटनपछि सोमबारदेखि बन्दसत्र सुरु हुनेछ। असोज १९ र २० गते बन्दसत्र सम्पन्न गरी २१ गतेदेखि नेतृत्व चयन प्रक्रिया अघि बढाउने कांग्रेसको तयारी छ। बन्दसत्रका लागि खुलामञ्चमै तीनवटा हल तयार गरिएको छ। यसपटक महाधिवेशनमा प्रचारप्रसारमा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिइएको छ। उम्मेदवारहरूलाई वातावरणमैत्री प्रचार गर्न आग्रह गरिएको कांग्रेसले जनाएको छ। शहरमा अनावश्यक प्रचार सामग्री टाँस्न रोक लगाउँदै डिजिटल बोर्डलगायत प्रविधिको प्रयोग गरिने बताइएको छ।