**१८ असोज २०८३** **पोखरा** । रिटर्नी फेडेरेसन नेपाल कास्कीअन्तर्गतका तीन स्थानीय तहमा पालिका अधिवेशन एकै दिन सम्पन्न भएका छन्। २०८३ साल असोज १७ गते मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवेशन सम्पन्न भएसँगै नयाँ नेतृत्व चयन गरिएको हो। मादी गाउँपालिकामा खेमराज सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ। त्यसैगरी अन्नपूर्ण गाउँपालिकामा लिलाधर भण्डारीको अध्यक्षतामा ९ सदस्यीय र माछापुच्छ्रे गाउँपालिकामा गोविन्द श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ। वैदेशिक रोजगारीबाट फर्किएका नेपालीको ज्ञान, सीप, पुँजी र अनुभवलाई स्वदेशमै उपयोग गर्दै उद्यमशीलता, रोजगारी सिर्जना तथा आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले रिटर्नी फेडेरेसनले स्थानीय तहमा संगठन विस्तारलाई प्राथमिकता दिँदै आएको छ। फेडेरेसनले विदेशबाट फर्किएका व्यक्तिलाई पुनःस्थापना तथा स्वरोजगारमा जोड्नुका साथै उनीहरूको सीप, पुँजी र अनुभवलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ। यसैबीच, रिटर्नी फेडेरेसन नेपाल कास्कीअन्तर्गत पोखरा महानगरपालिकाको अधिवेशन २०८३ साल असोज १८ गते आइतबार हुने भएको छ। महानगर अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने जनाइएको छ। कास्कीका तीन पालिकामा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई रिटर्नी फेडेरेसनका पदाधिकारी एवं सदस्यहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।