गण्डकीमा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई व्यवसाय गर्न प्रोत्साहन अनुदान, प्रस्ताव आह्वान
👤 प्रदेश संवाददाता |

**पोखरा** । गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई स्वदेशमै व्यवसाय सञ्चालन गर्न प्रोत्साहन गर्ने उद्देश्यले प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
मन्त्रालयले आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत ‘वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरूलाई व्यवसाय सुरु गर्न प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्न लागेको हो।
मन्त्रालयका अनुसार कार्यक्रमका लागि मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालन हुने वार्षिक स्वीकृत कार्यक्रम कार्यान्वयन मापदण्ड, २०८३ बमोजिम २०८३ असोज २९ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।
कार्यक्रमअन्तर्गत मापदण्डको अनुसूची–५ बमोजिमको निवेदन तथा सोसँग सम्बन्धित व्यावसायिक योजनाको ढाँचा र आवश्यक कागजातसहित प्रस्ताव पेश गर्न सकिने मन्त्रालयले जनाएको छ।
श्रम स्वीकृति लिएर मलेसिया तथा खाडी मुलुकमा रोजगारी गरी स्वदेश फर्किएका र फर्किएको पाँच वर्ष पूरा नभएका नेपाली नागरिकले सञ्चालन गरेको उद्योग तथा व्यवसायको यान्त्रिकीकरण एवं आधुनिकीकरणका लागि अनुदान सहयोग उपलब्ध गराउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
मन्त्रालयले साउदी अरब, दुबई, कतार, कुवेत, ओमान र बहराइनलगायतका खाडी मुलुक तथा मलेसियामा वैदेशिक रोजगारी गरी स्वदेश फर्किएका श्रमिकलाई कार्यक्रमबाट लाभ लिन सक्ने जनाएको छ।
प्रस्ताव पेश गर्दा निवेदनसँगै व्यावसायिक योजनाको ढाँचा तथा तोकिएका आवश्यक कागजातसमेत संलग्न गर्नुपर्नेछ। प्राप्त प्रस्तावको मूल्याङ्कन तथा छनोट मन्त्रालयले तोकेको मापदण्डका आधारमा गरिने जनाइएको छ।
मन्त्रालयका अनुसार प्रस्ताव, निवेदन, व्यावसायिक योजनाको ढाँचा, पेश गर्नुपर्ने कागजात तथा मूल्याङ्कनका आधारसम्बन्धी थप जानकारी मन्त्रालयको वेबसाइटमा उपलब्ध छ।
प्रस्ताव सम्बन्धी जानकारीका लागि मन्त्रालयको mosdys.gandaki.gov.np वेबसाइट हेर्न सकिनेछ। त्यसैगरी मन्त्रालयले कागजात सहित प्रस्ताव पेश गर्न ईमेल बाटपनी सकिने जानकारी दिएको छ।
मन्त्रालयले मिति २०८३/०६/२९ गतेभित्र आईपुग्ने गरी मन्त्रालयको ईमेल ठेगाना mosdys@gandaki.gov.np अथवा ministrysocialdevpkr@gmail.com मार्फत समेत प्रस्ताव दीन सकिने जनाएको छ।
**प्रकाशित मिति : १५ असोज २०८३**