रिटर्नी फेडेरेसन अन्नपूर्णको तेस्रो अधिवेशन सम्पन्न, लीलाधर भण्डारीको अध्यक्षतामा नयाँ कमिटी गठन।
👤 प्रदेश संवाददाता |

**१७ असोज २०८३**
**पोखरा** । रिटर्नी फेडेरेसन नेपाल अन्नपूर्ण गाउँपालिकाको तेस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले लीलाधर भण्डारीको अध्यक्षतामा नौ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको छ।
नवनिर्वाचित कमिटीको उपाध्यक्षमा गंगा कुमारी भुजेल, सचिवमा खुमराज देवकोटा र कोषाध्यक्षमा धनबहादुर केसी चयन हुनुभएको छ।
अधिवेशनमा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सचिव विष्णुहरि भुगाई प्रमुख अतिथि तथा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं अन्नपूर्ण गाउँपालिकाका इन्चार्ज भरतमान गुरुङ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुन्थ्यो।
कार्यक्रममा अखिल नेपाल महिला संघ अन्नपूर्णकी अध्यक्ष कमला केसी, नेसनल भोलेन्टियर फोर्सका केन्द्रीय सदस्य नवराज केसी, अन्नपूर्ण गाउँपालिका–२ का अध्यक्ष हरि भण्डारी, वडा नं. ४ का अध्यक्ष बाबुराम पौडेल, वडा नं. ५ का अध्यक्ष जगत केसी तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय सदस्य मनबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
प्रमुख अतिथि विष्णुहरि भुगाईले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिनुभयो। उहाँले रिटर्नीहरूको राजनीतिक, सामाजिक तथा आर्थिक पुनर्स्थापनासँगै उनीहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, पुँजी र अनुभवलाई अधिकतम उपयोग गर्नुपर्ने बताउनुभयो।
रिटर्नीहरूको क्षमता र अनुभवलाई राष्ट्र निर्माणमा उपयोग गर्न सके ‘सुखी नेपाली, समृद्ध नेपाल’को लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
त्यसैगरी प्रमुख वक्ता भरतमान गुरुङले रिटर्नीहरूको दक्षता र क्षमताअनुसार पार्टीले परिचालन गर्न सके नेकपा एमाले पुनः देशको प्रमुख राजनीतिक शक्ति बन्न सक्ने बताउनुभयो। उहाँले वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको सीप, अनुभव र क्षमतालाई संगठन तथा सामाजिक रूपान्तरणमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो।
पुष्पराज भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनको सञ्चालन सचिव लीलाधर भण्डारीले गर्नुभएको थियो।