माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र सञ्चालनमा ।
👤 प्रदेश संवाददाता |

**२४ असोज २०८३**
**पोखर** । कास्कीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीय क्षेत्र माछापुच्छ्रे बेस क्याम्पमा प्राथमिक उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको छ। उच्च हिमाली क्षेत्रमा भ्रमणमा आउने पर्यटक तथा स्थानीयवासीलाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले प्राथमिक उपचार केन्द्रको उद्घाटन गर्दै माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा आउने पर्यटक तथा स्थानीयको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर केन्द्र स्थापना गरिएको बताउनुभयो।
उहाँले उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा भ्रमणका क्रममा स्वास्थ्यसम्बन्धी समस्या आउन सक्ने भएकाले प्राथमिक उपचार सेवा उपलब्ध हुँदा पर्यटकलाई थप सुरक्षित र सहज वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो।
प्राथमिक उपचार केन्द्र सञ्चालनमा आएपछि माछापुच्छ्रे बेस क्याम्प क्षेत्रमा पुग्ने पर्यटक तथा स्थानीयले सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थाका लागि तत्काल प्राथमिक उपचार सेवा पाउनेछन्। यसबाट पर्यटकीय क्षेत्रमा स्वास्थ्य सुरक्षाको प्रत्याभूति बढ्नुका साथै पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने गाउँपालिकाको अपेक्षा छ।
गाउँपालिकाले पर्यटकीय क्षेत्रको पूर्वाधार विकाससँगै स्वास्थ्य तथा सुरक्षाका सेवाहरूलाई पनि विस्तार गर्दै लैजाने जनाएको छ। हिमाली क्षेत्रमा आउने पर्यटकलाई सुरक्षित र व्यवस्थित वातावरण उपलब्ध गराउन प्राथमिक उपचार केन्द्र महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।