खगेन्द्र सुनारविरुद्धको प्रमाण अदालतबाटै गायब
👤 सनस्टार संवाददाता |

खगेन्द्र सुनारवरिुद्धको प्रमाण अदालतबाटै गायब
२०८३ असोज १७
काभ्रे
रास्वपा सांसद खगेन्द्र सुनारविरुद्धको साइबर कसुरसम्बन्धी मुद्धामा पेश गरिएको प्रमाण गायब भएको छ । अधिवक्तासमेत रहेकी पीडित मनिषा गौतमले प्रहरी र सरकारी वकिलमार्फत पेश गरेको अडियो प्रमाण अदालतका कर्मचारीलाई मिलाएर गायव बनाइएको हो ।
अदालतको अवहेलना तथा समाजिक सञ्जालमार्फत् चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका र ५० हजार धरौटीमा रिहा भएका सुनारविरुद्ध गौतमले काभ्रे जिल्ला अदालतमा झण्डै तीन घण्टाको अडियो प्रमाण पेश गरेकी थिइन् । ‘मुद्धामा लिपिबद्ध गर्न ८ जीबीको पेनड्राइभमा तीन घण्टाको अडियो दिएको थिएँ’, उनले भनिन्, ‘तर त्यो एकाएक गायब पारियाे,अहिले तीन मिनेटको अडियो मात्र छ भनिरहेका छन्।’
पेनड्राइभ बुझाउनुअघि प्रहरी र सरकारी वकिलले समेत उक्त अडियो सुनेको गौतमले बताइन् । ‘तर अहिले कर्मचारीले लिपिबद्ध गर्दा अडियो छैन भनिरहेका छन्,मिनेटको मात्रै अडियो हुन्थ्यो भने म ८ जीबीको पेनड्राइभ किन बुझाउँथे ?’, उनले खुलाइन्, ‘निष्ठा कर्माचार्य भन्ने सरकारी वकिल त्यहीँ थिइन्, उनले पनि बकाइदा अडियो पेनड्राइभमा थियो भनेकी छन्, तर अदालतका कर्मचारीले छैन भनिरहेका छन् ।’
‘मुद्धामा लिपिबद्ध गर्न ८ जीबीको पेनड्राइभमा तीन घण्टाको अडियो दिएको थिएँ’, उनले भनिन्, ‘तर त्यो एकाएक गायब पारियाे,अहिले तीन मिनेटको अडियो मात्र छ भनिरहेका छन्।’
उक्त अडियो प्रमाण अदालतका कर्मचारीकै मिलेमतोमा गायब पारिएको हुनसक्ने गौतमको आशंका छ । ‘अदालतमा पेश गरिएको प्रमाण नै यसरी सेटिङमा गायब पारिन्छ भने पीडितले कसरी न्यायको आशा गर्ने ?’, उनले थपिन् । यसबारे बुझन् हामीले काभ्रे जिल्ला अदालतका स्रस्तेदार सन्जित गौतमलाई सम्पर्कमा गरेकोमा उनले खासै जानकारी नभएको प्रतिक्रिया दिए । ‘माथि इजलासमा को-कोले हेर्नुभयो, त्यो मलाई थाहा छैन’, उनले भने, ‘तर हामीले लिपिबद्ध गर्दा पेनड्राइभमा जे जे थियो, त्यसैलाई लिपिबद्ध गरिसक्यौँ।’
केही न्यायाधीशको नाम नै किटान गरेर फोटोसहित ब्यानर बनाउन र मूर्दावादको नारा लगाउन उक्साएका सुनारले गौतमलाई अश्लिल गालीगलौज गरेका थिए । उनले 'त्यो केटीभन्दा ठमेलका बारमा नाच्ने केटी राम्रा छन्’ भन्दै गालीबेइज्जती गरेको भिडियो अहिले पनि सामाजिक सञ्जालमा सर्वत्र पाइन्छ । सुनारले विभिन्न फेसबुक ग्रुपहरुमा आफ्नो तस्वीरसमेत राखेर भ्रम फैलाएको गौतमको आरोप छ ।