**२८ कात्तिक २०८३** **धनुषा ।** मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। सरकारमा सहभागी प्रमुख दलहरूले समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा परेको यादव नेतृत्वको सरकारको भविष्य आजको मतदानले निर्धारण गर्नेछ। विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार प्रदेशसभा बैठक आह्वान गरेका छन्। बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बस्ने तयारी छ। उक्त बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावलाई प्रदेशसभा बैठकको कार्यसूचीमा समावेश गर्नेछ। नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई समर्थन गर्दै आएका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन्। एमालेका चार मन्त्रीले गत असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए। त्यसपछि सरकारमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका चार मन्त्रीले पनि कात्तिक २० गते राजीनामा दिँदै समर्थन फिर्ता लिएपछि सरकार थप राजनीतिक दबाबमा परेको हो। मुख्यमन्त्री यादवले विश्वासको मत लिन आवश्यक प्रक्रिया अघि बढाउँदै बुधबार नै प्रदेशसभा सचिवालयमा औपचारिक पत्र पठाइसकेका छन्। बहुमत जुटाउने प्रयासस्वरूप उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफलसमेत गरिरहेका छन्। मतदान हुनुअघिसम्म पनि सहमति र समर्थन जुटाउने प्रयास जारी रहने उनले बताएका छन्। १०७ सदस्यीय मधेस प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा (एमाले) का २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन्। प्रदेशसभामा कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई सरकार जोगाउन थप ३२ सांसदको समर्थन जुटाउनुपर्ने चुनौती छ। सरकारलाई समर्थन फिर्ता लिएका एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदको भूमिका तथा अन्य दलको निर्णयले आजको राजनीतिक समीकरणलाई निर्णायक बनाउने देखिन्छ। यसअघि सरकारलाई साथ दिएका दलहरू नै बाहिरिएपछि मुख्यमन्त्री यादवका लागि विश्वासको मत प्राप्त गर्नु सहज देखिँदैन। यद्यपि, अन्तिम समयसम्म हुने राजनीतिक छलफल, दलहरूबीचको सहमति र सांसदहरूको निर्णयले मधेस प्रदेशको सत्ता समीकरण कता मोडिन्छ भन्ने टुङ्गो लगाउनेछ। आजको मतदान मुख्यमन्त्री यादवको पदको निरन्तरता मात्रै नभई मधेस प्रदेशको आगामी राजनीतिक दिशा निर्धारण गर्ने महत्त्वपूर्ण परीक्षाका रूपमा हेरिएको छ।