तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कप भलिबल प्रतियोगिता उद्घाटन २०८३ कात्तिक ८ , स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–७, गहतेस्थित ऐतिहासिक मनकामना मन्दिरको प्राङ्गणमा तेस्रो मनकामना महोत्सव तथा दोस्रो होमबहादुर राना कप क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको समुद्घाटन गरिएको छ। बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवरको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन सम्पन्न भएको हो। स्थानीय कला, संस्कृति, परम्परा तथा खेलकुदको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवसँगै सञ्चालन हुने भलिबल प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। क्लबस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताले खेलाडीबीच प्रतिस्पर्धात्मक भावना, आपसी सद्भाव र भाइचाराको विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकले लिएका छन्। ऐतिहासिक मनकामना मन्दिरको प्राङ्गणमा आयोजित महोत्सव तथा प्रतियोगिताले स्थानीय क्षेत्रको धार्मिक, सांस्कृतिक र खेलकुद पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।