दुई तिहाइको सरकार हुँदा पनि अन्नपूर्ण–७ मा विकास बजेट शून्य किन ? वडा अध्यक्ष गुरुङ
👤 सनस्टार संवाददाता |

**१९ असोज २०८३**
**कास्की, भिचुक** । अन्नपूर्ण गाउँपालिका–७ का वडा अध्यक्ष एवं गाउँपालिका प्रवक्ता भरतमान गुरुङले संघीय सरकारको दुई तिहाइ बहुमतलाई स्थानीय विकासमा रूपान्तरण गर्न नसकेको भन्दै सरकारसँग प्रश्न गरेका गर्नुभएको छ। उहाँले नयाँ सरकार गठनसँगै विकासले तीव्र गति लिने र स्थानीय तहमा बजेट तथा योजनाको आकार बढ्ने अपेक्षा गरिए पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको बताउनुभयो ।
बराहथान युवा क्लबको १७औँ वार्षिकोत्सव तथा शुभदीपावलीको अवसरमा आयोजित भलिबल प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम–२०८३ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै गुरुङले अघिल्लो सरकारले अन्नपूर्ण गाउँपालिकामा ६० करोड रुपैयाँभन्दा बढी र वडा नं. ७ मा मात्रै ११ करोड ५० लाख रुपैयाँभन्दा बढीका विकास योजना तथा बजेट विनियोजन गरेको स्मरण गराउनुभयो।
नयाँ सुशासन र विकासको नारासहित बनेको सरकारले अघिल्लो सरकारको तुलनामा दोब्बर बजेट ल्याउने अपेक्षा गरेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारले आफ्नो क्षेत्रमा कति योजना र बजेट ल्यायो भन्ने प्रश्न गर्नुभयो।
“संघमा तपाईंहरूको पार्टीको दुई तिहाइको सरकार हुँदा पनि गाउँपालिका र वडामा विकास बजेट शून्य किन ? स्थानीय जनताले विकासको अनुभूति कसरी गर्ने ? जनतालाई भाषण र आश्वासन होइन, विकास चाहिएको छ,” अध्यक्ष गुरुङले भन्नुभयो ।
करिब आठ महिनापछि पहिलोपटक आफ्नो वडामा संघीय सांसद आएको प्रसङ्ग उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरूले स्थानीय आवश्यकता र जनअपेक्षालाई प्राथमिकतामा राखेर विकासका योजना अघि बढाउनुपर्ने बताए। उनका अनुसार विकास कुनै एक दल वा जनप्रतिनिधिको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो।
गुरुङले गाउँको समग्र विकासका लागि राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघसंस्था र स्थानीयवासीबीच एकता, सहकार्य र निरन्तर पहलकदमी आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रममा खेलकुद तथा सांस्कृतिक गतिविधिले युवाको प्रतिभा प्रस्फुटन, सामाजिक एकता र आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै स्थानीय कला–संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।