चाडपर्व नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढ्यो। डाेल्पा,काेराेला नाका , मुस्ताङ हुदै पाेखरामा च्याङ्ग्राकाे चहलपहल
👤 सनस्टार संवाददाता |

**१६ असाेज, २०८३**
पोखरा । दसैँलगायतका ठूला चाडपर्व नजिकिँदै जाँदा देशका विभिन्न स्थानमा खसीबोका तथा च्याङ्ग्राको कारोबार बढ्न थालेको छ । पूर्वी नेपालको प्रमुख पशु बजारका रूपमा रहेको धरान कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ भने हिमाली क्षेत्रबाट मुस्ताङ हुँदै पोखरा भित्रिने च्याङ्ग्राको चहलपहलसमेत बढ्न थालेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका खरिद–बिक्रीका लागि आउने गरेका छन् । बिहीबार र शुक्रबार विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ ।
धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापार गर्दै आएका छन् । उनले आफ्नै घरमा पालेका खसीबोकासँगै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसीबोका पनि बिक्री गर्दै आएका छन् ।
‘व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा । यही व्यवसायबाट घरखर्च चलेको छ । यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ,’ उनले भने ।
मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का पनि प्रत्येक साता खसीबोका खरिद गर्न धरान आउने गरेका छन् । उनले एकपटकमा १०० देखि १५० वटासम्म खसीबोका खरिद–बिक्री गर्ने गरेको बताए । खड्काले यो व्यवसाय थालेको २३ वर्ष भइसकेको छ ।
धरानबाट खरिद गरिएका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायतका सहरमा बिक्री हुने गरेका छन् ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सामान्य समयमा पनि सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने सातामै १० हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेको उनले बताए ।
आर्थिक वर्ष २०८२/८३ मा धरान कृषि उपज बजारबाट करिब एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँ बराबरको कारोबार भएको अध्यक्ष भट्टराईले जानकारी दिए । गत वर्षको चाडपर्वको समयमा मात्रै करिब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
उनका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा खसीबोकाको कारोबार करिब १५ प्रतिशतले वृद्धि भइसकेको छ । दसैँ नजिकिँदै जाँदा कारोबार थप बढ्ने अपेक्षा गरिएको छ ।
धरान बजारमा कोशी प्रदेशका पहाडी जिल्लासँगै इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत तराई क्षेत्रका किसान तथा व्यापारी पनि खसीबोका खरिद–बिक्रीका लागि आउने गरेका छन् । व्यवस्थित बजारका कारण पहाडी जिल्लाका किसानले आफ्ना पशु बिक्रीका लागि सहज बजार पाउने गरेको समितिको भनाइ छ ।
**पोखरामा च्याङ्ग्राको प्रतीक्षा**
पूर्वी नेपालमा खसीबोकाको कारोबार बढिरहँदा पश्चिम नेपालमा भने दसैँका लागि हिमाली क्षेत्रबाट ल्याइने च्याङ्ग्राको बजारसमेत तात्न थालेको छ ।
डोल्पा तथा चीनतर्फको कोरला नाका हुँदै मुस्ताङ ल्याइएका च्याङ्ग्रा त्यसपछि विभिन्न मार्गबाट पोखरा आउने गरेका छन् । दसैँको समयमा पोखरा तथा आसपासका बजारमा मुस्ताङी च्याङ्ग्राको माग उच्च रहने गरेको छ ।
हिमाली क्षेत्रको चिसो भौगोलिक वातावरणमा पालिएका च्याङ्ग्रा दसैँमा विशेष परिकारका रूपमा उपभोग गर्ने परम्पराका कारण यसको माग बढ्ने गरेको व्यवसायीहरू बताउँछन् । डोल्पा, मुस्ताङलगायतका हिमाली क्षेत्रका किसान तथा व्यापारीले च्याङ्ग्रा बजारमा ल्याउने गरेका छन् ।
मुस्ताङ हुँदै पोखरा आउने च्याङ्ग्राले हिमाली क्षेत्रका किसानदेखि पोखराका व्यापारीसम्मलाई जोड्ने गरेको छ । दसैँको समयमा पोखरामा च्याङ्ग्राको कारोबार बढ्दा यससँग सम्बन्धित ढुवानी, बिक्री तथा अन्य व्यवसायमा समेत आर्थिक गतिविधि बढ्ने गरेको व्यवसायीहरूको भनाइ छ ।
यसरी दसैँ नजिकिँदै जाँदा पूर्वमा धरानको खसीबोका बजारदेखि पश्चिममा पोखराको च्याङ्ग्रा बजारसम्म पशु व्यापारमा चहलपहल बढेको छ । चाडपर्वका लागि उपभोक्ताको माग बढेसँगै किसान र व्यापारीले समेत बजारमा पशु ल्याउने क्रम तीव्र बनाएका छन् ।