खुत्रुक्केमा जम्मा गरेको रकम विपद् व्यवस्थापन कोषमा सहयोग, १० वर्षीया आरुसीको उदाहरणीय कार्य ।
👤 सनस्टार संवाददाता | 📅 2026-09-26

**पोखरा । असोज १०, २०८३**
उमेरले छेक्दैन, मन भए सहयोग गर्न सकिन्छ भन्ने उदाहरण अन्नपूर्ण गाउँपालिका–१ की १० वर्षीया आरुसी कुँवरले प्रस्तुत गरेकी छन्। कक्षा ५ मा अध्ययनरत आरुसी कुवरले आफ्नो जन्मदिनको अवसरमा आफूले जम्मा गरेको रकम अन्नपूर्ण गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा सहयोग गरेकी हुन्।
आरुसीले अन्नपूर्ण–८, वीरेठाँटी–घान्द्रुक तथा वीरेठाँटी–उल्लेरी सडक पुनर्निर्माणका लागि रु. १० हजार १० रुपैयाँ सहयोग गरेको अन्नपूर्ण गाउँ पालिकाका अध्यक्ष बिष्णुबहादुर के सि ले जानकारी दिनुभएको छ। अध्यक्ष के सि ले उक्त रकमलाई अन्नपूर्ण गाउँ पालिकाको बिपद ब्यबस्थापन कोषमा जम्मा गरिएको जानकारी दिनुभयो।
सानै उमेरमा आफूले जम्मा गरेको रकम सामाजिक तथा सार्वजनिक कामका लागि प्रदान गरेकी आरुसीको यो कार्यले समुदायमा सकारात्मक सन्देश दिएको छ। उनको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्दै अध्यक्ष के सि ले आगामी दिनमा उनको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ।
अन्नपूर्ण क्षेत्रमा बाढीपहिरो तथा अन्य विपद्का कारण क्षति पुगेका सडक तथा पूर्वाधार पुनर्निर्माणमा स्थानीय तहको विपद् व्यवस्थापन कोष प्रयोग हुँदै आएको छ। सोही क्रममा १० बर्षिय बालिकाले आफ्नो व्यक्तिगत बचतबाट गरेको सहयोगलाई सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको उदाहरणका रूपमा लिइएको छ।
अध्यक्ष के सि का अनुसार आरुसीकी आमा मन्जु जि सि कुवरले पनि केही दिनअघि बिपद ब्यबस्थापन कोषमा सहयोग गरेको उल्लेख गर्नुएको छ। १० वर्षीया नानीदेखि ९० वर्षीया आमासम्मको सहयोग प्राप्त हुनुले समुदायमा देखिएको सहकार्य र मानवीय भावनाको उदाहरण भएको भन्दै अध्यक्ष के सि ले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।
आरुसीको यो पहलले बालबालिकामा पनि सामाजिक जिम्मेवारी, सहयोग र समुदायप्रतिको अपनत्वको भावना विकास गर्न सकिने सन्देश दिएको छ।