**७ कार्तिक २०८३** **कास्की**। अन्नपूर्ण गाउँपालिका–७, लान्द्रुकमा ‘गन्तव्य लान्द्रुक दशैं मेला–२०८३’ सुरु भएको छ। क्युप्चेबराह क्लब लान्द्रुकको आयोजनामा कात्तिक ६ गते शुक्रबारदेखि सुरु भएको मेला कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ। पर्यटकीय गाउँ लान्द्रुकमा आयोजित मेलामा पुरुष तथा प्रौढ भलिबल प्रतियोगिता, घोडा दौड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको छ। मेलाले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै लान्द्रुकको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। शुक्रबार मेलाको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले लान्द्रुक दशैं मेलाले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लान्द्रुकको समग्र विकासका लागि गाउँपालिका सदैव साथमा रहेको उल्लेख गर्दै स्थानीय पर्यटन, संस्कृति र पूर्वाधार विकासमा सहकार्य आवश्यक रहेको बताउनुभयो। त्यसैगरी, गाउँपालिका प्रवक्ता एवं वडा नं. ७ का अध्यक्ष भरतमान गुरुङले लान्द्रुक गाउँपालिका र वडाकै महत्त्वपूर्ण पर्यटकीय गाउँ भएको उल्लेख गर्दै यहाँ आयोजित दशैं मेलाले गाउँको संस्कृति, पहिचान र मौलिकताको संरक्षण तथा प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले वैचारिक, सामाजिक, भौगोलिक, जातीय, सांस्कृतिक तथा धार्मिक विविधताका बीच भाषिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव र एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो। सामाजिक सद्भाव, आपसी सहकार्य र एकताबाट मात्रै दिगो विकास र समृद्धि सम्भव हुने उहाँको भनाइ थियो। अन्नपूर्ण महिला सञ्जालकी अध्यक्ष कमला केसीले मेलाको भव्य सफलताको शुभकामना व्यक्त गर्दै समाजका हरेक गतिविधिमा महिलाहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले महिला सशक्तीकरणका लागि सबै पक्षले साथ र सहयोग गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा निवर्तमान वडा अध्यक्ष एवं संरक्षण व्यवस्थापन समिति, लुम्लेका अध्यक्ष घनश्याम चापागाईं, वडा सदस्य राम गुरुङ, लान्द्रुकका पूर्व वडा अध्यक्ष बुद्धिप्रसाद गुरुङ, स्थानीय समाजसेवी गिरिधारी पौडेल तथा दूधेब‍राह आमा समूहकी सचिव सक्रिय गुरुङलगायतले मेलाको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। मेला संयोजक विष्णु चापागाईंले मेलाको अवसरमा लान्द्रुक गाउँको भ्रमण गरी स्थानीय पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउन सम्पूर्ण महानुभावहरूलाई आग्रह गर्नुभयो। भलिबल खेल संयोजक महादेव गुरुङका अनुसार प्रतियोगितामा २० टोली सहभागी भइसकेका छन्। क्लबका अध्यक्ष विनय गुरुङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा क्लबका सचिव हितमान गुरुङ ‘राजु’ले स्वागत मन्तव्य राख्नुभएको थियो भने क्लबका पूर्वसचिव बलबहादुर केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रदर्शन गरिएको थियो। कात्तिक १० गतेसम्म सञ्चालन हुने मेलाले स्थानीय खेलकुद प्रतिभाको पहिचान, सांस्कृतिक सम्पदाको संरक्षण तथा लान्द्रुकलाई पर्यटकीय गन्तव्यका रूपमा थप प्रचारप्रसार गर्न सहयोग पुग्ने आयोजकले अपेक्षा गरेको छ।