ढिकुरपोखरी समाजको शुभकामना कार्यक्रम सम्पन्न, सामाजिक एकतामा जोड।
👤 प्रदेश संवाददाता |

**२५ असाेज, २०८३**
पोखरा** । चाडपर्वले जोड्छन् मन, संस्कृतिले जोड्छ समाज र आपसी सद्भावले बलियो बनाउँछ सामाजिक एकता। यही आत्मीयता र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै ढिकुरपोखरी समाज, पोखराको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दीपावली, नेपाल संवत्, छठ पर्व एवं ल्होसारको अवसरमा आइतबार पोखरा–२, बिन्ध्यवासिनीस्थित अनन्त सामुदायिक भवनमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि कास्की निर्वाचन क्षेत्र नं. ३ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य माननीय प्रकाश बरालले समाजले निर्वाह गर्नुपर्ने भूमिका र सामाजिक उत्तरदायित्वका विषयमा आफ्नो धारणा राख्नुभयो। उहाँले समाजलाई सामाजिक एकता, आपसी सद्भाव र सामूहिक हित प्रवर्द्धन गर्ने साझा संस्थाका रूपमा अघि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो।
समाजको भूमिका केवल चाडपर्वमा शुभकामना आदानप्रदान गर्नेमा मात्र सीमित नरही समुदायका सदस्यबीच आत्मीयता बढाउने, सामाजिक समस्यामा सहकार्य गर्ने र समाजको हितका लागि रचनात्मक योगदान पुर्याउने दिशामा केन्द्रित हुनुपर्ने सन्देश कार्यक्रमले दिएको छ।
विविध जातजाति, भाषा, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा चाडपर्वले आपसी सम्बन्धलाई नजिक ल्याउने र सामाजिक सद्भावलाई जीवन्त राख्ने काम गर्छन्। यस्ता अवसरमा आयोजना गरिने कार्यक्रमले पुराना सम्बन्धलाई नवीकरण गर्नुका साथै नयाँ पुस्तामा सांस्कृतिक मूल्य, मान्यता र परम्पराप्रतिको अपनत्व विकास गर्न सहयोग पुर्याउँछन्।
समाजकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गणेशप्रसाद अधिकारीले गर्नुभएको थियो।
ढिकुरपोखरी समाजले चाडपर्वको अवसर पारेर आयोजना गरेको यस कार्यक्रमले सांस्कृतिक परम्पराको निरन्तरता, सामाजिक एकता र सामूहिक उत्तरदायित्वको महत्त्वलाई उजागर गरेको छ।