मुख्य समाचार

नागरिक परोपकार समन्वय संस्थाको चौथो अधिवेशन सम्पन्न, जमरकटेलको नेतृत्वमा नयाँ कार्यसमिति।

👤 सनस्टार संवाददाता  |  📅 2026-09-20
नागरिक परोपकार समन्वय संस्थाको चौथो अधिवेशन सम्पन्न, जमरकटेलको नेतृत्वमा नयाँ कार्यसमिति।
असोज ४, २०८३ पोखरा । नागरिक परोपकार समन्वय संस्थाको सातौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सोमनाथ जमरकटेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। संस्थाका अध्यक्ष देवराज पन्थीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज सुवेदीले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै रूपा गाउँपालिकाका उपाध्यक्ष लालसुब्बा गुरुङले गाउँपालिका स्थापना कालदेखि नै नागरिक परोपकार समन्वय संस्थासँग आवश्यक सहकार्य र सहयोग गर्दै आएको बताइन्। उनले आगामी दिनमा पनि संस्थासँगको सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गरिन्। प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद्का समयमा नागरिक परोपकार समन्वय संस्थाले पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थालाई धन्यवाद व्यक्त गरे। उनले विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा आगामी दिनमा जिल्ला प्रशासन कार्यालय र संस्थाबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा सूर्य तारा क्लब पोखराका अध्यक्ष विष्णु पुन, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य, पोखरा–३० का पूर्वअध्यक्ष श्रीराम पोखरेल, पोखरा महानगर कार्यपालिका सदस्य भीमकुमारी गर्बुजा र पोखरा–३० का वडाध्यक्ष दुर्गा सुवेदी लगायतले संस्थाको सामाजिक योगदानको चर्चा गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए। अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा शिवराज सुवेदी, सचिवमा भैरबलाल श्रेष्ठ, सहसचिवमा केशवप्रसाद तिवारी र कोषाध्यक्षमा कृष्ण ओझा चयन भएका छन्। अन्य सदस्यहरू समेत गरी १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो। नवनिर्वाचित कार्यसमितिले संस्थाको सामाजिक सेवाको दायरालाई थप विस्तार गर्दै विपद् व्यवस्थापन, मानवीय सहायता तथा समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ। संस्थाका अध्यक्ष देवराज पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका सचिव शिवराज सुवेदीले गरेका थिए।