निर्वाचन सुधारका लागि दलहरूसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
👤 सनस्टार संवाददाता |

निर्वाचन सुधारका लागि दलहरूसँग आयोगको छलफल, विदेशबाट मतदानको विषय प्राथमिकतामा
काठमाडौँ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई थप प्रभावकारी, विश्वसनीय र जनमैत्री बनाउन राजनीतिक दलहरूसँग सहकार्य र समन्वय आवश्यक रहेको जनाएको छ।
निर्वाचन तथा राजनीतिक दल व्यवस्थापनसम्बन्धी विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनीतिक दलहरूसँग आयोगले शुक्रबार छलफल गरेको हो। आयोगले २४ वटा राजनीतिक दललाई आमन्त्रण गरी आयोजना गरेको कार्यक्रममा निर्वाचन सुधारका विभिन्न विषयमा विस्तृत छलफल भएको जनाएको छ।
छलफलमा निर्वाचनमा अधिकतम मतदाता सहभागिता सुनिश्चित गर्ने, बदर मत घटाउने, मतदाता नामावलीलाई थप शुद्ध र व्यवस्थित बनाउने, विदेश तथा अन्तरजिल्ला मतदानको व्यवस्था गर्ने लगायतका विषय प्रमुख रूपमा उठेका थिए।
त्यस्तै, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा तथा राजनीतिक दलसम्बन्धी ऐनअनुसार दलहरूले गर्नुपर्ने कार्यलगायत समग्र निर्वाचन सुधारका विषयमा पनि छलफल भएको आयोगले जनाएको छ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरूले नेपालको संविधानले नागरिकलाई मतदानको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै स्थायी ठेगानाभन्दा बाहिर अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकलाई समेत मतदानको अवसर उपलब्ध गराउनुपर्ने धारणा राखेका थिए।
निर्वाचनमा प्रविधिको प्रयोग गर्दा विज्ञहरूको सुझाव र आवश्यक अध्ययनका आधारमा मात्रै अघि बढ्नुपर्नेमा पनि दलहरूले जोड दिएका छन्। प्रविधिको प्रयोगले निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा कुनै असर नपर्ने गरी आवश्यक तयारी गर्नुपर्ने उनीहरूको धारणा थियो।
दलहरूले निर्वाचन खर्च न्यूनीकरण, मतदाता शिक्षा र मतदाता नामावली तयारीलगायतका विषयमा आयोगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले राजनीतिक दल र आयोगबीचको आपसी सहयोग तथा सहकार्यबाट लोकतान्त्रिक प्रक्रियाअनुसार निर्वाचनका सबै पक्षमा समयानुकूल सुधार गर्न सकिने बताए।
उनले निर्वाचन सुधारका विषयमा राजनीतिक दलहरूबाट उल्लेखनीय सहयोग प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा निर्वाचन आयुक्तहरू डा. जानकी कुमारी तुलाधर, सगुन शम्सेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा तथा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई लगायतको उपस्थिति रहेको थियो।