नेपाल खेलकुद महासंघ रुपाको संयोजकमा रोमन थापा मगर चयन पोखरा । नेपाल खेलकुद महासंघ रुपा गाउँपालिकाको संयोजकमा रोमन थापा मगर चयन भएका छन्। रुपा गाउँपालिका–४ निवासी थापा मगर फुटबल खेलका क्षेत्रमा सक्रिय खेलाडी हुन्। असोज २५ गते पोखरा–२५ हेम्जामा सम्पन्न नेपाल खेलकुद महासंघ कास्कीको जिल्ला भेलाबाट थापा मगरलाई रुपा गाउँपालिकाको संयोजकको जिम्मेवारी प्रदान गरिएको हो। नवनियुक्त संयोजक थापा मगरलाई जिम्मेवारी सुम्पँदै महासंघका केन्द्रीय सचिव विष्णु पुनले निर्धारित समयभित्र पालिका अधिवेशन सम्पन्न गरी रुपा गाउँपालिकालाई खेलकुदमय बनाउन शुभकामना व्यक्त गरे। उनले स्थानीय तहमा खेलकुद गतिविधि विस्तार तथा खेलाडीको क्षमता विकासमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। जिल्ला संयोजक कृष्ण पुनको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सचिव खगराज अधिकारी रहेका थिए। भेलालाई नेकपा एमालेका केन्द्रीय सदस्यद्वय राजीव पहारी र नवराज ओझा, जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री तथा नेपाल खेलकुद महासंघका नेताहरू भरत गोदार, सरस्वती श्रेष्ठ, शिवप्रसाद अधिकारी र रमेश कार्कीले सम्बोधन गर्दै नवनियुक्त संयोजकलाई शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिव विश्वदल गुरुङले गरेका थिए।