परम्परा र संस्कृति जगेर्नामा संगम युवा क्लब सक्रिय, रोटे पिङ निर्माण २०८३ असोज २९ , कास्की । कास्कीको रूपा गाउँपालिका–७, उपल्लो तालबेसीस्थित संगम युवा क्लबका युवाहरू मौलिक कला, संस्कृति र परम्पराको संरक्षणमा सक्रिय भएका छन्। पछिल्लो समय लोप हुँदै गएको परम्परागत रोटे पिङ निर्माण गरेर क्लबले सांस्कृतिक जगेर्नामा प्रशंसनीय पहल गरेको छ। नेपालीहरूको महान् चाड दसैँ–तिहार नजिकिँदै गर्दा गाउँमा चाडपर्वको रौनक बढाउन र मौलिक संस्कृतिलाई जीवन्त राख्न क्लबका युवाहरू सामूहिक रूपमा रोटे पिङ निर्माणमा जुटेका हुन्। युवाहरू आफैँ काठ काट्ने, तास्ने र पिङ तयार पार्ने काममा सक्रिय छन्। रोटे पिङ निर्माणसँगै संगम युवा क्लब सामाजिक तथा सामुदायिक गतिविधिमा पनि सक्रिय रहँदै आएको छ। क्लबले लामो समयदेखि हरितालिका तीजको अवसरमा चेलीबेटीहरूलाई दर खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको छ भने चैतेदसैँ मेला पनि आयोजना गर्दै आएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक एकता र युवा सहभागिता अभिवृद्धिमा क्लबले खेलेको भूमिकाको स्थानीयस्तरमा प्रशंसा भइरहेको छ। मौलिक संस्कृतिको निरन्तरता र सामुदायिक हितका कार्यलाई प्राथमिकता दिँदै आगामी दिनमा पनि सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने क्लबका युवाहरूको प्रतिबद्धता छ। परम्परागत संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र गाउँघरमा सामूहिकताको भावना बलियो बनाउन संगम युवा क्लबको यो पहल उदाहरणीय बनेको छ।