पुतलीखेत क्लबको आयोजनामा विजयादशमी कप २०८३ फुटसल प्रतियोगिता हुने
👤 प्रदेश संवाददाता |

पुतलीखेत क्लबको आयोजनामा विजयादशमी कप २०८३ फुटसल प्रतियोगिता हुने
स्याङ्जा ।
विजयादशमी–२०८३ को अवसरमा स्याङ्जाको पुतलीखेतमा पुतलीखेत क्लबको आयोजनामा ‘पुतलीखेत कप ५ ए साइड फुटसल प्रतियोगिता’ हुने भएको छ।
स्याङ्जा जिल्लाको ऐतिहासिक पुरानो व्यापारिक केन्द्र पुतलीखेतमा रहेको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा खुल्ला फुटसलसँगै भेट्रान्सतर्फको प्रतियोगिता र थप आकर्षणका रूपमा ८० मिटर स्लो बाइक रेस प्रतियोगिता समेत आयोजना गरिने आयोजकले जनाएको छ।
खुल्ला फुटसल तर्फ प्रतियोगिताको प्रथम पुरस्कार १ लाख १ हजार १ सय ११ रुपैयाँ तथा द्वितीय पुरस्कार ५१ हजार १ सय ११ रुपैयाँ रहेको छ। यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र म्यान अफ द म्याचलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। खुलातर्फको टिम दर्ता शुल्क ५ हजार ५ सय रुपैयाँ तोकिएको छ।
भेट्रान्सतर्फ प्रथम हुने टोलीले घोर्ले बोका तथा द्वितीय हुने टोलीले लोकल भाले पुरस्कार प्राप्त गर्नेछन्। भेट्रान्सतर्फ टिम दर्ता शुल्क ३ हजार ५ सय रुपैयाँ रहेको आयोजकले जनाएको छ।
यसैगरी प्रतियोगिताको थप आकर्षणका रूपमा आयोजना हुने ८० मिटर स्लो बाइक रेस मा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३ हजार, २ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उक्त प्रतियोगिताको दर्ता शुल्क २ सय रुपैयाँ तोकिएको छ।
क्लबका अध्यक्ष रमेश श्रेष्ठका अनुसार खुलातर्फको टिम दर्ताको अन्तिम मिति २०८३ असोज २६ गते सम्म रहेको छ भने खेल सञ्चालन असोज २७ गतेदेखि ३० गतेसम्म हुनेछ।
प्रतियोगिता पुतलीखेत, स्याङ्जास्थित पुतलीखेत खेलमैदानमा सञ्चालन हुनेछ। खेलकुदमार्फत युवालाई सक्रिय बनाउँदै स्थानीयस्तरमा खेलकुदको विकास र सामाजिक एकताको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले जानकारी गराए।
अध्यक्ष श्रेष्ठले प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा टोलीलाई समयमै दर्ता गरी प्रतियोगितामा सहभागिता जनाउन आग्रह गरेको छ।