पोखरामा जग्गाको कित्ताकाट खुल्यो, वर्गीकरणको काम सकियो
👤 प्रदेश संवाददाता |

पोखरामा जग्गाको कित्ताकाट खुल्यो, वर्गीकरणको काम सकियो
पोखरा।
पोखरा महानगरपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । महानगरले नगर क्षेत्रभित्रको सम्पूर्ण भू–उपयोग वर्गीकरणको काम सकेर कित्ताकाट सुरु गरेको हो ।
योसँगै पोखराका ३३ वटै वडाका झण्डै ७ लाख कित्ता जग्गाको कित्ताकाट खुलेको छ । महानगरले कित्ताकाटका लागि भूमि प्रशासन र नापी कार्यालयलाई पत्र पठाएको छ ।
महानगरपालिका, भूमि प्रशासन र नापी कार्यालयसहितको संयुक्त बैठक र आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी वर्गीकरणको काम अन्तिम चरणमा पुगेको मेयर धनराज आचार्यले जानकारी दिए ।
भू–उपयोग ऐन २०७६ तथा नियमावली २०७९ (संशोधन सहित) को व्यवस्था अनुसार पोखरा महानगरपालिकाको वडा नम्बर ११ तथा वडा नम्बर १३ देखि ३३ सम्मको अन्तिम भू–उपयोग वर्गीकरण स्थानीय राजपत्रमा प्रकाशित भइसकेको छ ।
अन्य वडाहरूको यसअघि नै वर्गीकरणको काम सकिएको थियो । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले वर्गीकरण अनुसारको काम अघि बढाउन नापी र भूमि प्रशासनलाईआग्रह गरेका हुन् ।
‘स्थानीय राजपत्रमा प्रकाशित अन्तिम भू–उपयोग वर्गीकरण विवरणलाई आधार मानी प्रचलित कानुन बमोजिम भूमि प्रशासन तथा नापी सम्बन्धी अभिलेख, नक्सा तथा अन्य आवश्यक कार्यमा कार्यान्वयन आवश्यक प्रक्रिया अगाडि बढाइदिनुहुन अनुरोध छ,’ उनले लेखेको पत्रमा उल्लेख छ ।
यस्तै, भू–उपयोग वर्गीकरण विवरण अनुसार सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेख सम्बन्धी कार्यमा आवश्यक समन्वय गरिदिनुहुन पनि उनले आग्रह गरे । सरकारले भू–उपयोग ऐनमार्फत कृषि र गैरकृषि क्षेत्रको वर्गीकरण नगरी कित्ताकाट गर्न रोक लगाएपछि पोखरामा लामो समयदेखि जग्गाको कित्ताकाट ठप्प थियो ।
यसले गर्दा सर्वसाधारण नागरिकले अंशबन्डा, जग्गा किनबेच, बैंक धितो तथा व्यक्तिगत व्यवहार सञ्चालन गर्न नपाएर सास्ती खेप्दै आएका थिए। ‘वर्गीकरण सम्पन्न भएसँगै आम नागरिकको चासो र प्रतीक्षाको विषय बनेको कित्ताकाट कहिले खुल्छ भन्ने प्रश्नको समाधान भएको छ,’ मेयर आचार्यले भने।
सेवाग्राहीहरूले प्रचलित कानुन र तोकिएको मापदण्ड पूरा गरी सहजै कित्ताकाट तथा जग्गा सम्बन्धी सम्पूर्ण प्रशासनिक सेवा लिन सक्ने उनले बताए । राजपत्रमा प्रकाशित अन्तिम भू–उपयोग वर्गीकरण विवरण, स्थानीय भू–उपयोग परिषद्को निर्णय प्रतिलिपि र कार्यपालिकाको निर्णय प्रतिलिपिसहित सम्बन्धित कार्यालयहरूमा पठाइसकिएको महानगरले जनाएको छ।
यो निर्णयसँगै लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार चलायमान हुने अनुमान गरिएको छ । पछिल्लो समय पोखराको राजस्व समेत कमजोर बनेको छ।