शंकरपोखरीमा लिमीभुमेकोट दौड तथा विविध खेलकुद प्रतियोगिता हुने
👤 बिष्णु पुन |

शंकरपोखरीमा लिमीभुमेकोट दौड तथा विविध खेलकुद प्रतियोगिता हुने
पर्वत ।
पर्वतको फलेवास नगरपालिका–३, शंकरपोखरीस्थित पोखराचौरमा विजयादशमी, दीपावली, नेपाल संवत् तथा छठ पर्व–२०८३ को अवसरमा लिमीभुमेकोट दौड प्रतियोगिता तथा विविध खेलकुद कार्यक्रम आयोजना हुने भएको छ।
आगामी २०८३ कार्तिक ३ गते मंगलबार महानवमीका दिन बिहान ८ बजेदेखि सुरु हुने प्रतियोगितामा दौड, छेलो फाल र क्यारमबोर्डलगायतका खेल समावेश गरिएको छ।
युवाहरूको प्रतिभा र क्षमता उजागर गर्दै खेलकुदका माध्यमबाट एकता, भाइचारा र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।
प्रतियोगिताअन्तर्गत दौडतर्फ प्रथम हुनेले १० हजार, द्वितीय हुनेले ५ हजार र तृतीय हुनेले ३ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, छेलो फाल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ प्राप्त गर्नेछन्। क्यारमबोर्ड प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक बिनोद सुनार जानकारी दिए ।
दौड र छेलो फाल प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसँगै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। क्यारमबोर्ड प्रतियोगिताको प्रथम पुरस्कारमा पनि नगद सहित मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ।
संयोजन बिनोद सुनार ले प्रतियोगितामा सहभागी हुन तथा कार्यक्रमको शोभा बढाउन सम्पूर्ण युवा, खेलाडी, खेलप्रेमी, स्थानीयवासी र देश–विदेशमा रहेका नेपालीलाई उपस्थितिका लागि अनुरोध गरेको छन ।
‘स्वस्थ युवा, समृद्ध समाज—खेलकुद हाम्रो पहिचान’ भन्ने सन्देश सहित आयोजना हुन लागेको यस कार्यक्रमले स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र युवाको सक्रियता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।