पोखरा–१७ मा सार्वजनिक सुनुवाइ : ‘विरोध होइन, विकासका लागि सहकार्य गरौँ’ वडा सदस्य बिक्रम गुरुङ
👤 बिष्णु पुन |

पोखरा–१७ मा सार्वजनिक सुनुवाइ : ‘विरोध होइन, विकासका लागि सहकार्य गरौँ’
पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर १७ मा वडा कार्यालयबाट प्रवाह भइरहेको सेवा, विकास निर्माण तथा वडा कार्यालयका गतिविधिबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले सार्वजनिक सुनुवाइ आयोजना गरिएको छ।
कार्यक्रममा वडा सदस्य विक्रम गुरुङले वडा कार्यालयका कामकारबाही, विकास निर्माणका योजना तथा सेवा प्रवाहबारे नागरिकलाई प्रत्यक्ष जानकारी गराउन र सेवामा आवश्यक सुधार ल्याउन सार्वजनिक सुनुवाइ आयोजना गरिएको बताउनुभयो।
उहाँले स्थानीय योजना निर्माण तथा विकासका काममा नागरिकको सहभागिता महत्वपूर्ण हुने उल्लेख गर्दै नागरिकका सुझावलाई प्राथमिकताका साथ लिनुपर्ने बताउनुभयो।
वडा सदस्य गुरुङले विकास निर्माण तथा सेवा प्रवाहका विषयमा देखिएका कमी–कमजोरीबारे सकारात्मक ढंगले सुझाव दिन आग्रह गर्नुभयो। उहाँले विरोधका लागि विरोध गर्नुभन्दा समस्या पहिचान गरी समाधानका लागि सकारात्मक सुझाव र सहकार्य आवश्यक रहेको बताउनुभयो।
सार्वजनिक सुनुवाइले वडा कार्यालय र नागरिकबीचको सम्बन्ध थप सुदृढ बनाउँदै सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।